कास्कीका कैदीबन्दी आफ्नो सामान लिएर फर्किन थाले (भिडियो सहित)

-


     पोखरा क्लिक     
     भाद्र २७ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, २७ भदौ,

कास्की कारागारबाट जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीहरू पुनः कारागार फर्किन थालेका छन्। मंगलबार बेलुका आन्दोलनकारीहरूले कारागार तोडफोड गरेपछि कारागार प्रशासनले चाबी खोल्न बाध्य भई करिब ७७३ जना कैदीबन्दी बाहिर निस्केका थिए।

जेलर राजेन्द्र शर्माका अनुसार शुक्रबार दिउँसो ३ बजेसम्म ४० जना कैदीबन्दी स्वेच्छिक रूपमा फर्किइसकेका छन्। उनीहरूले करिब दुई सय जना अझै प्रत्यक्ष सम्पर्कमा रही क्रमशः फर्किने जानकारी समेत गराएका छन्। कारागार प्रशासनले अहिले भागेका सबैलाई कुनै दण्ड नदिई स्वेच्छिक रूपमा फर्किन आग्रह गरिरहेको छ। ३५ जना महिला, २ जना बालबालिका र ७३८ जना पुरुषसहित जम्मा ७७३ जना कारागारबाट बाहिरिएका थिए।

मंगलबार साँझ साढे सात बजे आन्दोलनकारीहरू कारागार भित्र पसेर तोडफोड र आगजनी गरे पछि बचाउनको लागि पनि कारागार प्रशासनले दबाब थेग्न नसकी चाबी खोल्नुपरेको थियो। त्यसपछि धेरै कैदीबन्दी झोला बोकेर बाहिरिएका थिए भने अहिले केहीले आफ्ना सामानसहित फर्किन थालेका हुन् । जेलर शर्माका अनुसार कारागारभित्र रहेका टेलिभिजनसहितका सामग्री चोरी भएका छन् भने केही महत्वपूर्ण कागजातहरूमा आगजनी पनि भएको छ। कैदीबन्दीहरूले आफूहरू बसेका कोठाबाट रकम तथा उनीहरूले बनाएका मुडासमेत चोरी भएको गुनासो गरेका छन्।

तिमीहरूलाई पुनः सम्झाउँछु — तत्कालीन परिस्थितिले बाहिरिनु परे पनि अब स्वेच्छिक रूपमा कारागार फर्किनु नै सबैको हितमा रहनेछ। कारागार प्रशासनले सबैलाई सहज ढंगले फर्किन आह्वान गरेको छ।