
दीननाथ बराल,
पोखरा, २४ भदौ
जेन–जी आन्दोलनको दोस्रो दिन मंगलबार पोखरा युद्धभूमि झैँ देखियो। लाखौं युवाको उर्लदो भीडलाई रोक्न सुरक्षाकर्मी असमर्थ बनेपछि सरकारी कार्यालयदेखि मन्त्री, मुख्यमन्त्री र मेयरका निजी घर–निवाससम्म आगोले घे¥यो। होटल, सोरुम, पार्टी कार्यालय र सवारी साधनहरु जलेर खरानी भए। यस घटनाबाट अबौं बढीको क्षति भएको अनुमान गरिएको छ।
जहाँ–जहाँ आगो फैलियो
पोखरा महानगरपालिका – कार्यालयदेखि वडा कार्यालयसम्म तोडफोड, मोटरसाइकल र गाडी जले।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको निवास – सरकारी घर तोडफोड।
मन्त्री विन्दुकुमार थापा – नयाँबजारको निवास, उनका दाजु ध्रुव थापाको घर, सिजी मोटर्स सोरुम जलेर ध्वस्त।
लेकसाइडको होटल बगैचा रिसोर्ट – तोडफोड।
जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालय – तोडफोड तथा आगजनी।
नेपाल टेलिकम, महेन्द्रपुल – कार्यालय जलाइयो।
मेयर धनराज आचार्य – निजी निवासमा आगजनी।
पोखरा इभेन्ट सेन्टर ९वडा नं। ६० – ध्वस्त हुने गरी आगजनी।
पर्यटन मन्त्रालय र अख्तियार कार्यालय ९मासबार, वडा ७० – आगजनी।
एमाले र कांग्रेस पार्टी कार्यालय – तोडफोड र आगजनी।
कफ्र्यु आदेशले पनि रोक्न सकेन
सोमबारको दमनमा १९ जनाको मृत्यु र ४ सयभन्दा बढी घाइते भएपछि मंगलबार प्रदर्शनकारी आक्रोशित बने।
स्थिति नियन्त्रण गर्न कास्की प्रशासनले पोखरा उपत्यकाका केआईसिङपुल, चाइनापुल, बागलुङ बसपार्क, लेकसाइड, पार्दी र बिरौटा क्षेत्रमा कफ्र्यु लगाएको थियो। तर भीडले कफ्र्युलाई चुनौती दिँदै सडकदेखि सरकारी भवनसम्म कब्जा गर्यो। जिल्ला प्रशासन कार्यालय समेत आगजनी भयो।



