पर्वतीय दौड सफल पार्ने पर्यटन व्यवसायीको वचन, फाराम भर्ने म्याद भदौ २५ सम्म

-


     पोखरा क्लिक     
     भाद्र २२ गते २०८२ मा प्रकाशित


पोखरा, २२ भदौ,

विश्व पर्यटन दिवस अवसरमा पोखरामा हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता भव्य र सभ्यरुपमा सम्पन्न गर्न पर्यटन व्यवसायीहरुले प्रभावकारी ढंगले सहयोग गर्ने वचन दिएका छन् । पोखरा प्रबद्र्धन केन्द्र र पोखरा क्लिक प्रा.लि. संयुक्त आयोजनामा यही असोज ४ गते हुने प्रतियोगिता सफल पार्न आवश्यक सहयोग गर्ने उनीहरुले बताएका हुन् ।

केन्द्रका अध्यक्ष एवं प्रतियोगिता संयोजक दीननाथ बरालको अध्यक्षतामा शनिबार छलफलमा व्यवसायीहरुले सरकारले हाल सामाजिक सञ्जाल फेसबुकसहित २६ सामाजिक सञ्जाल निष्कृय पारेकाले भाइवर र टिकटकलाई प्रतियोगिताको प्रचार माध्यम रुपमा अघि बढाउन सुझाव दिए । बक्सिङका पदकधारी खेलाडी एवं अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पर्वतीय दौड प्रतियोगिताले पोखरा क्षेत्रको खेल पर्यटनलाई महत्व दिएको हुँदा उक्त प्रतियोगितालाई सफल पार्न निजी क्षेत्रसहित स्थानीय सरकारले आवश्यक सहयोग गर्नुपर्ने बताए । उनले भने, ‘विश्व पर्यटन अवसरमा आयोजना हुने उक्त प्रतियोगिता सफल पार्नु हाम्रो पनि कर्तव्य पनि हो, प्रतियोगिताले पोखरा क्षेत्रको खेल पर्यटनसँगै अर्थतन्त्रमा समेत थप टेवा पुग्ने विश्वास लिएका छौं ।’
पोखरा भ्रमण वर्ष–२०२५ का संयोजक गोपीबहादुर भट्टराईले २६ सामाजिक सञ्जाल निस्क्रिय पार्दा यतिबेला पर्यटनसहित धेरै क्षेत्र प्रभावित भएको गुनासो गरे । यस्ता प्रतियोगिता र विभिन्न अभियान सञ्चालन गर्नका हाल सञ्चालितमा भाइवरलगायतमा जोडिएर आवश्यक प्रचारप्रसार गर्नुपर्ने सुझाव दिए । टान गण्डकी अध्यक्ष कृष्णप्रसाद आचार्यले पोखराको नेचर, कल्चर र एड्भेन्चरको सहर पोखरामा यस्ता खेल पर्यटनका गतिविधि निरन्तर सञ्चालन गर्नुपर्ने सुझाव दिए ।

होटल संघ पोखरा नेपाल अध्यक्ष लक्ष्मण सुवेदीले प्रतियोगितामा जतिसक्दो धेरै धावकहरू सहभागी गराउन आफूहरू पनि होस्टेमा हैसे गर्ने वचन दिए । उनले भने, ‘विश्व पर्यटन दिवसमा हुने यो वर्षको पहिलो कार्यक्रम हो, यसलाई सफल पार्नु तपाईं हामी सबैको जिम्मेवारी हो, रुमसहित अन्य प्राविधिक रुपमा कुनै पनि सहयोग गर्न हामी तत्पर छौं ।’ पोखरा पर्यटन परिषद् निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा क्षेत्रमा हुने साहसिक खेल गतिविधिको विश्वबजारमा व्यापक प्रचारप्रसार गर्न आवश्यक भएको बताए । उनले कार्यक्रम सफल पार्र्न भौतिक तथा नैतिक सहयोग गर्न आफूहरू तयार रहेको बताए ।
खेल पर्यटन प्रबद्र्धन गर्न आयोजना हुने उक्त प्रतियोगिताले सिंगो पोखरा क्षेत्रको पर्यटन प्रबद्र्धन हुने केन्द्रका उपाध्यक्ष असफल गौतमले बताए ।

प्रतियोगितामा भाग लिन चाहने धावकले भदौ २५ गतेसम्म पोखरा क्लिक डटकममा गएर फाराम भर्न सक्ने प्रतियोगिता संयोजक बरालले जनाए । सामाजिक सञ्जाल निस्क्रिय हुँदा त्यसको प्रत्यक्ष असर परेकाले विकल्पमा आफूहरु खटिएको उनले बताए । खुलासहित विभिन्न ६ इभेन्टमा हुने ८ किमी दूरीको प्रतियोगिता पोखरा–२२ विश्व शान्ति स्तुपदेखि सुरु भई बुद्धपार्क पुगेर सकिनेछ ।

प्रतियोगिता सफल पार्न विश्व शान्ति स्तुपः समिति, पुम्दीकोट कोट विकास समिति, कालाबाङ घरेडी बुद्धपार्क समिति, गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय, पोखरा लेकसाइडको मजेष्टिक लेक फ्रण्ट होटल एण्ड सुइट्स, हिमश्री फुड्स प्रा.लि.÷केसी ग्रुप, होटल बाराही, सिटिजन्स फर्निचर, पोखरा पर्यटन परिषद्, होटल मुस्ताङ लेते एण्ड थकाली किचन, टान गण्डकी, अटोवेज प्रा.लि., पोखरा महानगरपालिका २२ को वडा युवा परिषद्, पोखरा भ्रमण वर्ष २०२५, परिचय एड्भरटाइजिङ, होटल संघ पोखरा नेपाल, ईजि ग्रुप, अन्नपूर्ण केवलकार लगायतको सहयोग रहेको छ ।

यस्तै, नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रवद्र्धन गरेका छन् । प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय र पोखरा महानगरपालिका २२ को सहकार्य रहेको प्रतियोगिताको मेडिकल पार्टनरमा नेलम्बो नेपाल, हस्पिटल पार्टनरमा नमस्ते हस्पिटल, अफिसियल टेलिभिजनमा सिटीवान टेलिभिजन तथा अफिसियल रेडियोमा रेडियो सफलता जोडिएको छ । आधिकारिक ड्रिङ्किङ वाटरका रूपमा ग्लेज नेचुरल स्प्रिङ वाटरले साथ दिएको छ । कार्यक्रममा करिब १६ लाख ९१ हजार रुपैयाँ खर्च हुने भएको प्रा.लि.का व्यवस्थापक सागर सुनारले बताए ।

प्रतियोगिताको प्रथम पुरस्कार अन्तर्राष्ट्रिय ख्यातिप्राप्त खेलाडी लेफ्टिनेन्ट कुसाङ गुरुङले प्रायोजन गरेका छन् । उनी एभरेष्ट म्याराथन लगायत थुप्रै प्रतिष्ठित दौडमा नेपालको नाम उजागर गर्न सफल प्रतिभा हुन् । यस्तैगरी, नेलम्बो नेपालले तेस्रो पुरस्कार समेत प्रायोजन गरेको छ । सहारा क्लवले १६ बर्ष मुनिका खेलाडीहरुको बिधामा विजेताको पुरस्कार १५ हजार सहयोग गर्ने क्लब अध्यक्ष केशवराज बरालले जनाए । सिटिजन्स फर्निचरले पर्यटक दौडको प्रोत्साहन पुरस्कार प्रायोजन गर्ने भएको सिटिजन्स फर्निचरका संचालक दीपक कार्कीले जनाए ।