
पोखरा
कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा शनिबार पोखरामा सम्पन्न २१औं स्व.इन्द्र बहादुर गुरुङ स्मृति ब्याडमिन्टन प्रतियोगितामा पोखरा पब्लिकका अमृत थापा र मैत्रय पाठशालाकी निभा राई च्याम्पियन बनेका छन्।
कक्षा ९–१० छात्र सिंगल्सतर्फ अमृतले फाइनलमा कञ्चनजंघाका सक्षम गुरुङलाई २१–१५, १४–२१ र २१–१९ ले हराउँदै उपाधि चुमे। त्यस्तै छात्रातर्फ निभाले सेन्ट फ्रान्सिसकी कुशुम थापा मगरलाई २१–१, २१–४ ले सहज जित निकाल्दै उपाधि जितिन्।कक्षा ६–८ छात्र सिंगल्स तर्फ रेनबोका रियान मल्ल प्रथम, मैत्रयका मिजाश उदाश द्वितीय भइन् । कक्षा ६–८ छात्रा सिंगल्स बालोदयकी सेरेन प्रधानाङ्ग प्रथम, स्टेप बाइ स्टेपकी आकृती थापा मगर द्वितीय भइृन् ।
कक्षा १–५ छात्र सिंगल्स ज्योतिकुञ्जका अनुपा जिसी प्रथम, सुरवी मन्टेसरीका डेभिड पुन द्वितीय भए । कक्षा १–५ छात्रा सिंगल्स शिशु निकेतनकी सुरूची श्रेष्ठ प्रथम, सेन्ट मेरिजकी कृस्टी राना मगर द्वितीय भए । कक्षा ११–१२ छात्र सिंगल्स प्रतिभाका विज्ञान भण्डारीले मदरल्याण्डका दिप रानालाई १९–२१, २२–२०, २१–१४ ले पराजित गर्दै उपाधि जिते ।
कक्षा ११–१२ छात्रा सिंगल्स स् मदरल्याण्डकी दिलाशा रानाले ग्लोबल कलेजियटकी रक्षा फगामीलाई २१–११, २१–१८ ले हराउँदै उपाधि रक्षा गरे । विश्वविद्यालयतर्फ छात्र सिंगल्स पृथ्वीनारायण क्याम्पसका सुमित सुनारले पोखरा लिंकनका हेप्पी गुरुङलाई २१–१३, २१–१६ ले पराजित गर्दै उपाधि जिते । कक्षा ११–१२ छात्र डबल्स स् प्रतिभाका विज्ञान भण्डारी र पवन गुरुङको जोडीले मदरल्याण्डका दिप राना र आशिष बहादुर कार्कीलाई १७–२१, २१–९, २१–१० ले हराउँदै उपाधि जिते ।
कार्यक्रमको समापनमा गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री पञ्चराम गुरुङ, स्व। इन्द्र बहादुर गुरुङकी धर्मपत्नी जगदेश्वरी गुरुङ, उनका भाई दुतमान गुरुङ, र हिसान गण्डकीका उपाध्यक्ष पुरन कुँवर लगायतले विजेतालाई मेडल, प्रमाणपत्र र ट्रफी वितरण गरे।
सो अवसरमा बोल्दै सांसद गुरुङले युवा खेलाडी उत्पादनमा यस्ता प्रतियोगिताले महत्त्वपूर्ण योगदान गर्ने बताए। साथै उनले राज्यले खेलकुद क्षेत्रका समस्याहरू समाधान गर्न विशेष ध्यान दिनुपर्नेमा जोड दिए।
कार्यक्रम कास्की जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष शुसिल कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो। यसै क्रममा भुटानमा हालै सम्पन्न क्षेत्रीय ब्याडमिन्टन प्रतियोगितामा नेपालका तर्फबाट पदक विजेता बनेका खेलाडी दिलाशा राना, निभा राई र आयुष्मा नेपाललाई विशेष सम्मान गरिएको थियो। प्रतियोगितामा कास्कीका ४४ विद्यालयका १४४ खेलाडीको सहभागिता रहेको संघका सचिव फणिन्द्र तिमिल्सिनाले बताए ।




