पोखराको लामाचौर तिज महोत्सवमा खुल्ला पुरुष तथा अन्तर बिद्यालय स्तरिय छात्रा भलिवल प्रतियोगिता हुने

-


     पोखरा क्लिक     
     भाद्र ३ गते २०८२ मा प्रकाशित


दीननाथ बराल
पोखरा, ३, भदौ

नेपाली नारीहरुको महान पर्व हरितालिका तिज पर्वको अवसरमा पोखराको लामाचौरमा यस बर्ष खुल्ला पुरुष भलिवल तथा अन्तर बिद्यालय स्तरिय छात्रा भलिवल प्रतियोगिता हुने भएको छ । पोखराको नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा पोखराको इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा यही भदौं ७ गते देखि १० गतसम्म उक्त प्रतियोगिता हुने भएको आज (मंगलबार) पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

खुल्ला पुरुष तर्फ यस बर्ष करिब ८ टिम सहभागि हुने भएको समाजका अध्यक्ष ई.दिनेश भण्डारीले बताउनु भयो । उहाँका अनुसार विभागिय टोली सशस्त्र प्रहरी वलको एपिएफ, नेपाली सेना, स्याङजा, कास्की माचापुच्छ«े, जिएम समाज, पोखरा १९ को एक टिम प्रतियोगितामा सहभागि हुने भएको केही टिम एक दुई दिनमा टुंगो लाग्ने उहाँले जनाउनु भयो । एनभिए कपमा सहभागि एका ३ जनासम्म खेलाडीहरु एउटा टिममा खेल्न पाउने भएकाछन् । त्यसै गरी गत बर्षको तुलनामा पुरस्कार राषिमा समेत दोब्बरले बृद्धि गरी विजेतालाई ३ लाख पुरस्कार प्रदान गरिने भएको प्रचार संयोजक बिष्णुप्रसाद गौतमले बताउनु भयो । उपविजेतालाई भने १ लाख ५० हजार प्रदान गरिने भएको छ । गत बर्ष महिला तथा पुरुष तर्फको टिमले जनही १ लाख ५० हजार पुरस्कार प्राप्त गरेका थिए ।

बिद्यालयस्तरबाट महिला भलिवल खेलको विकास गर्ने उद्धेश्यले यस बर्ष देखि अन्तर–विद्यालय छात्रा भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा विजेताले १ लाख, उपविजेताले ५० हजार प्राप्त गर्नेछन्। विगत ११ बर्षसम्म निरन्तर हुदै आएको महिला राष्ट्रिय भलिवल प्रतियोगिता यस बर्ष भने स्थगित गर्नु परेको समाजका निर्वतमान अध्यक्ष स्वागतमानसिंह भण्डारीले बताउनु भयो । उक्त प्रतियोगितामा न्यून टिमको सहभागिता हुने र आर्थिक अभावका कारण यस बर्ष उक्त प्रतियोगिता स्थगित गर्नु परेको उहाँले जनाउनु भयो । विगतमा राष्ट्रिय खेलकुद परिषद्, प्रदेश सरकार लगायतका निकायहरूबाट सहयोग पाउँदै आएको भए पनि यस बर्ष खासै बजेट विनियोजन नभएकोले ई.भण्डारीले गुनासो गर्नुभयो ।

तिज महोत्सव भने भदौं ८ देखि १० गतेसम्म संचालन हुने भएको छ । उक्त अवसरमा आयोजना हुने उक्त तिज महोत्सव सहित विभिन्न खेलकुद सहितका अन्य कार्यक्रम सम्पन्न गर्न करिब ४५ लाख खर्च लाग्ने अर्थ समितिका संयोजक कमल बहादुर थापाले बताउनु भयो । समाजले २९ औं वार्षिकोत्सवको अवसर पारेर लामाचौर तीज महोत्सव गर्न लागेको हो । महोत्सवमा आयोजना हुने अन्तर बिद्यालय स्तरिय लोक नृत्य प्रतियोगितामा विजेतालाई ४० हजार उपविजेतालाई २५ हजार रुपैया प्रदान गरिने भएको छ । तिज गित प्रतियोगितामा प्रथम हुने टोलीलाई ५० हजार दोश्रो हुनेलाई ३० हजार र तेश्रो हुनेलाई २० हजार प्रदान गरिने भएको छ ।

‘मौलिक संस्कृतिको जगेर्ना गरौं’ भन्ने नारा सहित आयोजना हुने महोत्सवमा करिब ५० औद्योगिक तथा व्यापारिक स्टल, बाल उद्यान, कलाकारहरूको दैनिक प्रस्तुति, स्रष्टा सम्मान, विविध मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रम रहने भएको द्धितीय उपाध्यक्ष हरिबहादुर थापाले बताउनु भयो । महोत्सवमा लोकदोहोरीका चर्चित कलाकारहरू प्रकाश दूतराज, जानकी तारामी मगर, रीता थापा मगर, शिव हमाल, श्रीदेवी देवकोटा, दीपक खड्का, प्रजापति पराजुली, रामजी पौडेल, माया गुङ, लक्ष्मी नेपालीलगायतले आफ्नो प्रस्तुति दिने प्रचार–प्रसार संयोजक विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो । महोत्सवबाट बचत रकम आकस्मिक सेवा तथा तीज महोत्सव कोषमा थपिने भएको छ । यसअघि २०५४ सालमा पहिलोपटक आयोजना गरिएको लामाचौर मेला मार्फत संस्थाले एम्बुलेन्स, शववाहक सञ्चालन गर्नुका साथै समाजको पहलमा गोस्तेघाटमा फुटबल मैदान निर्माण गरिएको पूर्व अध्यक्ष बुद्धिबहादुर खत्रीले बताउनु भयो ।

यस वर्षको महोत्सव डिसहोम फाइबर नेटको मुख्य प्रायोजनमा, रारा चाउचाउ (हिमश्री फुड्स प्रालि) र एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसको टाइटल प्रायोजन गरेकाछन् । महोत्सव संरक्षकमा पोखरा महानगरपालिका वडा नं. १६ र १९ रहेका छन् भने गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रज्ञा–प्रतिष्ठान लगायत विभिन्न संघ–संस्थाहरू प्रबद्र्धक र सहयोगीका रूपमा रहेका छन् । समाजले आयोजना गर्नेे महोत्सवमा खेलकुदको समेत प्रबद्र्धन हुने पूर्व अध्यक्ष नवीन भण्डारीले जनाउनु भयो ।