पोखरामा अवैध सुन तथा चाँदीको कारोवार गर्ने ११ जना पक्राउ, ६ किलो सुन बरामद, उक्त घटना प्रति व्यवसायीको आपती

-


     पोखरा क्लिक     
     श्रावण २४ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा २४, साउन,

कास्की प्रहरीले पोखरा क्षेत्रमा अवैध रुपमा सुन र चाँदी कारोवार गर्ने ११ जनालाई पक्राउ गरेको छ । “अप्रेसन यलो मेटल” नाम दिइएको विशेष अभियान अन्तर्गत पोखरा महानगरपालिका–२, ३, ४ र ९ का क्षेत्रमा प्रहरीले गोप्य सूचनाको आधारमा छापा मारेर ११ जना सहित उनीहरुबाट ठुलो परिणाममा सून तथा चाँदी समेत बरामद गरेको शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

गण्डकी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका युनिटहरूको संयुक्त टोलीले भारत घर भएका अधिकांश कालिगढहरुले अबैध रुपमा सुन तथा चाँदीको कारोवार गरेको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । बिना बिल बिजकको सुन तथा चाँदीको कारोवार गरेको आधारमा उहाँहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।उहाँहरुको साथबाट कास्की प्रहरीले ६ केजी ४ सय ग्राम (५४९ तोला ४० लाल) सुन, ४ सय ४४ तोला ७३.९ लाल चाँदी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले बताउनु भयो । साथै उहाँहरुको साथबाट नगद ५ लाख १४ हजार ६६५ रुपैयाँ पनि बरामद गरिएको छ । बरामद गरिएका सुन–चाँदीको बजार मूल्य करिब १३ करोड रुपैयाँ पर्ने प्रहरीको अनुमान छ ।

आफुहरुले साउन ४ देखि उक्त अप्रेसन सञ्चालन गरिएको उहाँले जनाउनु भयो । पक्राउ परेकामध्ये अधिकांश भारतीय नागरिक हुनुहुन्छ, जसले लामो समयदेखि पोखरामै सुनचाँदीका गर गहना देखि भाडाँकुडाँ समेत बनाउने कालिगढको रुपमा काम गर्दै आउनु भएको थियो । पक्राउ पर्नेमा महाराष्ट्रका ४१ वर्षीय राजेन्द्र रामचन्द्र जगताप, पश्चिम बंगालका ३५ वर्षीय सन्दिप ढाव, ४१ वर्षीय सोमनाथ पाल, ४७ वर्षीय दिपक सामन्त, ४७ वर्षीय गोविन्द दिण्डा, ३५ वर्षीय असित वर, ४४ वर्षीय तापस सामन्त, ३८ वर्षीय उज्वल भोमिक, ४० वर्षीया सुनिता पवार, ४९ वर्षीय प्रोभास माझी र ४५ वर्षीय मनिक लाल आदक रहनु भएको छ । उहाँहरुलाई हाल पोखराका विभिन्न वडामा बसोबास गर्दै आउनु भएको थियो । बरामद सामग्री र पक्राउ परेका सबैलाई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यसैबिच, सुन चाँदी व्यवसायी संघ कास्कीका अध्यक्ष भविन्द्र विश्वकर्माले उक्त घटना प्रति आपति जनाउनु भएको छ । प्रहरी प्रशासनले फिल्मि शैलीमा छापा मारेर व्यवसाय र कालिगढलाई निरास बनाउने काम गरेको उहाँले जनाउनु भयो । प्रहरीले भने जस्तो उक्त सुन तथा चाँदी अवैध नभई केही व्यवसायको, केही आफ्नो कमाइको र केही बिल बिजक नभएका ग्राहकहरुको समेत सुन भएको दाबी गर्नुभयो । उहाँका अनुसार बंगाली कालिगढहरुले आइतबार देखि पोखरा क्षेत्रमा सुन चाँदीका कुनै पनि सामानहरु नबनाउने गरी कम ठप्प पार्ने भएका छन् ।



This will close in 20 seconds