
पोखरा, १०, साउन
पोखरा महानगरपालिका–२२ मा यही असोज ४ गते आयोजना हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितामा वडा नं। २२ को वडा युवा परिषद्ले औपचारिक सहकार्य गर्ने भएको छ। प्रतियोगितालाई भव्य, सभ्य र सफल बनाउन परिषद्ले स्वयंसेवक व्यवस्थापन, प्रचार–प्रसार, तथा युवा क्लबहरूको परिचालनमा महत्वपूर्ण भूमिका खेल्ने भएको हो।
परिषद्का अध्यक्ष दिनेश बराल र प्रतियोगिता संयोजक दीननाथ बराल बीच हालै सम्पन्न सहमतिपछि परिषद् प्रतियोगिता व्यवस्थापनमा सक्रिय सहभागिता सहित जोडिने भएको हो। सम्झौतापछि अध्यक्ष बरालले यो प्रतियोगिता गाउँकै उत्सवका रूपमा लिएको बताउँदै, “हामी सम्पूर्ण युवा वर्गको प्रतिनिधित्व गर्ने संस्थाका रूपमा कार्यक्रमलाई सफल बनाउन सक्दो सहयोग गर्नेछौं,” भन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सम्झौतासँगै परिषद्का सहसचिव निश्चल देवकोटा, सदस्य सुदीप विक, पोखरा क्लिक डटकमका वरिष्ठ संवाददाता असफल गौतम र प्रतियोगिता व्यवस्थापक सागर सुनार पनि उपस्थित हुनु भएको थियो ।
स्थानीय युवाहरूको सहकार्यमा सम्पन्न हुँदै आएको यो प्रतियोगिता पोखरा–२२ को नयाँ आकर्षक खेलकुद इभेन्टका रूपमा स्थापित हुँदै गएको आयोजकहरूको भनाइ छ। खेलकुद र पर्यटन प्रवर्द्धनमा योगदान पुगोस् भन्ने उद्देश्यसहित प्रतियोगितालाई समुदायको साझा उत्सवका रूपमा मनाउने तयारी गरिएको छ।
प्रतियोगिता नेपाल पर्यटन बोर्डको प्रवर्द्धन, प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय तथा पोखरा महानगरपालिका वडा नं। २२ को सहकार्यमा सम्पन्न हुँदैछ। मेडिकल पार्टनरका रूपमा नोलम्बो नेपाल रहनेछ भने तेस्रो पुरस्कार प्रयोजन पनि सो संस्थाले गर्नेछ। यसैगरी, प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरको रूपमा सिटीवान टेलिभिजन रहनेछ। प्रतियोगितालाई सफल बनाउन परिचय एड्भर्टाइजिङ, होटल मुस्ताङ लेते एण्ड थकाली किचन लगायत स्थानीय व्यवसाय र संस्थाहरूले पनि सहयोग गर्ने भएका छन्।




