
दीननाथ बराल,
पोखरा, ३ साउन,
पोखरामा पछिल्लो समय गर्मी बढेसँगै गर्मी छल्न बालबालिका देखि युवा–युवतीसम्म सुईमिङ पुल, खोला, ताल तथा वाटर स्पोट्र्स पार्कहरूमा भीडभाड ह्वात्तै बढेको छ । पोखरामा गर्मी छल्न बालबालिका देखि युवाहरु नजिकको खोलामा रहेका पौडी पोखरी, सुईमिङ पुल, वाटर पार्कमा पौडी खेल्नेहरुको शनिबार पनि दिनभरजसो भिडभाड भएको थियो ।
यसैक्रममा पोखरा–१७ सितापाइलामा अवस्थित फिस्टेल ड्रिम पार्कमा शनिबार मात्र २ हजार भन्दा बढी आगन्तुक पुगेको पार्कका सञ्चालक तथा युवा व्यवसायी कमल बस्नेतले पोखराक्लिकलाई बताउनु भयो । ४ वर्षअघि संचालनमा आएको यस पार्कमा ११ थरीका पानीका खेलहरू छन्। प्रवेश शुल्क १०० रुपैयाँ रहेको छ भने सबै खेल सहितको प्याकेज १,००० रुपैयाँ, र बालबालिकाको लागि ३ सयदेखि ५ सय रुपैयाँसम्मको शुल्क निर्धारण गरिएको छ । साथै ड्राइ पार्कको शुल्क १ सयदेखि २५० रुपैयाँसम्म छ । आज (शनिबार) पोखराको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियससम्म पुगेको थियो । यद्यपी साँझ पख भने पोखरामा पानी परेर सितलको अनुभव भएको हो ।
सञ्चालक बस्नेतका अनुसार हरेक वर्ष आगन्तुकहरूको सङ्ख्या बढ्दो क्रममा छ । ७० रोपनी क्षेत्रफलमा फैलिएको पार्कमा हालसम्म ४५ करोड रुपैयाँ लगानी भइसकेको छ र आगामी चरणमा ५५ करोड थप लगानी गरी पाँच तारे होटल सञ्चालनमा ल्याउने योजना छ । यो योजना अन्तर्गत एक अर्ब रुपैयाँको परियोजना अघि बढाइने भएको बस्नेतले जनाउनु भयो ।
पार्कका संचालक बस्नेतले भन्नुभयो “पोखरामा यस किसिमको स्तरिय पार्क पहिले थिएन, यो हाम्रो नेपालमै ठुलो हो, यहाँ व्यक्ति वा परिवारले दिनभरि रमाइलो गर्न सक्ने व्यवस्था गरिएको छ।” पार्कमा इन्डोर गेम, ड्राइ पार्क, वेड पार्क, सोफा स्लाइड, लेजी रिभर, फ्रि फल, ट्रोनाडो बावल, वेभ पुल, रेल लगायतका आकर्षण रहेको बस्नेतले बताउनु भयो ।
पार्कमा पानीका खेल मात्र नभई पानी नचाहिने ड्राइ गेमहरू पनि रहेका छन्, जसले हरेक मौसममा पर्यटकलाई आकर्षित गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । पार्कमा ५ हजार जना एकैपटक रमाउन सक्ने क्षमता रहेको छ । पार्क पोखराको पुरानो विमानस्थलबाट ४ किलोमिटर र पृथ्वीचोकबाट ५ किलोमिटरको दूरीमा पर्छ । आफुहरुले सेप्टी देखि आवश्यक सुरक्षाको प्रबन्ध गरेको बस्नेतले जनाउनु भयो ।





