मदरल्याण्डको गणित हाजिरीजवाफमा महेशको टिम उत्कृष्ट

-


     पोखरा क्लिक     
     असार १ गते २०८२ मा प्रकाशित


पोखरा, जेठ ३१,

पोखरा–७, मासवारस्थित मदरल्याण्ड माविमा आयोजित गण्डकी प्रदेशस्तरीय गणित हाजिरीजवाफ प्रतियोगितामा महेश कोइराला, अग्रिमराज तिवारी र इशानइश्वर बाँस्तोलाको समूह प्रथम भएको छ । प्रथम भएको टिमले ३० हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी हात पारेको छ ।

माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएका विद्यार्थीका लागि आयोजित प्रतियोगिता आइतबार सकिएको छ । विद्यालयले आयोजना गरेको यो तेश्रो संस्करण हो । विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यका अनुसार प्रतियोगितामा अहमन गुरुङ, अविनव पराजुली र निश्चल बाँस्तोलाको समूह दोश्रो हुँदै नगद २० हजार रुपैयाँ पुरस्कार सहित ट्रफी हात पारेको छ । त्यस्तै प्रदीप रानाभाट, सम्पन्न अधिकारी र आर्यन गिरीको टिम तेश्रो हुँदै नगद १० हजार रुपैयाँ र ट्रफी हात पारेको छ । निरज पौडेल, विधान पौडेल र सर्भज्ञ सापकोटाको टीमले चौथो स्थान ओगटेर ५ हजार रुपैयाँ र ट्रफी हात पारेको छ । आचार्यका अनुसार प्रतियोगितामा विभिन्न ७८ वटा टिमले सहभागिता जनाएका थिए । ७८ वटा टिममा २ सय ३४ जना विद्यार्थी सहभागि थिए । हरेक टिममा ३ जनाको दरले विद्यार्थीले प्रतियोगितामा भाग लिएको आचार्यले बताए ।

‘विभिन्न विद्यालयबाट एसइइ दिएका विद्यार्थीले समूह बनाएर यो प्रतियोगितामा भाग लिएका थिए । विद्यार्थी आफ्नै सक्रियतामा सहभागि थिए,’ आचार्यले भने, ‘यस्ता प्रतिश्पर्धामा विद्यार्थीको व्यक्तिगत सक्रियता निकै नै महत्वपूर्ण हुन्छ ।’ एसइइ परीक्षा दिएर फुर्सदिला भएका विद्यार्थीलाई पढाईमा जोड्नका लागि प्रतियोगिता आयोजना गरिएको उनले बताए । विद्यालयका प्राचार्य डा. नारायण बरालले विद्यार्थीको अन्तरनिहीत क्षमता प्रस्ट्याउने मौका विद्यालयले दिएको बताए । ‘सबै कुरा पुस्तकमा पढेर मात्र हँुदैन । व्यक्तिगत दक्षता र रुचीमा पनि भर पर्छ । गणित हाजिरीजवाफले विद्यार्थीका अन्तरनिहीन क्षमता बाहिर ल्याउन सघाउँछ,’ बरालले भने, ‘परीक्षा दिएर फुर्सदिला भएका बालबालिकालाई गणितको अभ्यासले उनीहरुलाई सक्रिय बनाईरहन्छ ।’ प्रतियोगितामा उत्कृष्ट हुने समूहलाई विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्य, प्राचार्य डा. नारायण बराल लगायतले पुरस्कार वितरण गरेका थिए ।



This will close in 20 seconds