
काठमाडौं, जेठ २३,
नेपालको प्रमुख अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आफ्नो स्थापनाको १०औं वार्षिकोत्सव काठमाडौंमा एक समारोहको आयोजना गर्दै मनाएको छ। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, चीन जनवादी गणतन्त्रको दूतावास, र नागरिक उड्डयन प्राधिकरण नेपाल (CAAN) का विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

समारोहका प्रमुख अतिथि चीनका नेपालस्थित राजदूत महामहिम चेन् सोंग रहेका थिए। अन्य विशिष्ट अतिथिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव श्री मुकेश डंगोल र नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक श्री देवचन्द्रलाल कर्ण रहनुभएको थियो। कार्यक्रममा वक्ताहरूले नेपालकै अन्तर्राष्ट्रिय उडान सेवा प्रवर्द्धनमा हिमालय एयरलाइन्सको योगदानको प्रशंसा गर्दै यसले अन्तर्राष्ट्रिय सम्पर्क विस्तार, पर्यटन प्रवर्द्धन तथा व्यापार अभिवृद्धिमा उल्लेखनीय भूमिका खेलेको उल्लेख गरे। हाल हिमालय एयरलाइन्सले चीन, साउदी अरेबिया, कुवेत, कतार, युएई, मलेसिया र बंगलादेशलगायतका देशहरूमा नियमित उडान सेवा सञ्चालन गर्दै आएको छ।
समारोहमा हिमालय एयरलाइन्सका कर्मचारीद्वारा प्रस्तुत गरिएको सांस्कृतिक नृत्य, गीत तथा जातीय पोशाकमा सजिएको प्रस्तुतिले नेपाली सांस्कृतिक विविधताको सुन्दर झल्को दिएको थियो। वि।सं। २०७१ मा स्थापना भई २०७२ सालदेखि व्यावसायिक उडान सुरु गरेको हिमालय एयरलाइन्सले एशिया तथा मध्यपूर्वका प्रमुख गन्तव्यहरूमा सेवा विस्तार गर्दै आफूलाई भरपर्दो अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको रूपमा स्थापित गरिसकेको छ।
हवाई सेवाको अर्को दशकमा प्रवेश गर्दै कम्पनीले आफ्नो सेवा गुणस्तर अझ सुधार गर्ने, उडान सञ्जाल विस्तार गर्ने र नेपाललाई दक्षिण एसियाको हवाई केन्द्रको रूपमा विकास गर्ने लक्ष्यमा प्रतिबद्ध रहेको जनाएको छ।




