
दीननाथ बराल,
पोखरा १८, जेठ,
पोखरामा राइड शेयरिङ (सेल्फ चालक) हरूले मनपरी भाडा अशुल्न थाले पछि यात्रु मर्कामा पर्नु भएको छ । पोखरा सहित गण्डकी प्रदेशमा सार्वजनिक यातायात सेवा ठप्प हुँदा यो अबस्थामा राइड सेयरिङ एप मार्फत यात्रु वोक्नेहरुले यात्रु ठग्न थालेको यात्रुले पोखराक्लिक समक्ष गुनासो गर्नु भएको छ ।
गण्डकी प्रदेश सरकारले निजी सवारी साधनलाई सार्वजनिक सवारी सरह यात्रु ओसारपसार गर्न दिने निर्णय फिर्ता गर्न माग गर्दै यातायात व्यवसायीहरुले सार्वजनिक यातायातका सवारी साधनहरु घर ग्यारेज गरी सेवा ठप्प पार्दा राइड सेयरिङ एप मार्फत यात्रु वोक्नेहरुले मन परी भाडा अशुली गरेको एक पिडित यात्रु दीपा थापाले गुनासो गर्नु भयो । उहाँ पृथ्वीचोकबाट बिन्दवासिनी स्कूल जाँदा मोटरसाइकलमा ३५० रुपैयाँ आफुले तिरेको उनले गुनासो गनुृभयो । यसको नियमन नहुदा आफु जस्ता धेरै यात्रु ठगिएको उहाँको भनाई थियो । लोक सेवा आयोग निम्न माध्यमिक तहको शिक्षको परिक्षा दिन पोखरा आउनु भएको सिताराम थारु पनि पोखरामा राइड सेयरिङबाट ठगिनु भएको गुनासो गर्नुभयो । त्यती मात्र होइन राइड सेयरिङ एप संचालन गर्नेहरु पोखराको मुख्य बजारमा र बिहानै र बेलुकाको समयमा दोब्बर भन्दा बढी भाडा अशुली गर्ने गरेको समेत पोखरेलीले पोखराक्लिक समक्ष गुनासो गर्नु भएको छ । पोखरा क्षेत्रमा विभिन्न काम बिषेशले आउनु भएको त केही पोखरा बाहिर जानुपर्ने अबस्थामा यात्रुहरुलाईं समेत हाल बन्दको प्रभावले गर्दा सास्ती भोग्नु परेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले हिजो देखि पोखरामा विभिन्न ढंगले बाहिरी जिल्ला जान रोकिएका वा अलपत्र परेका यात्रुलाई सकटिङ गरी अनेत्र पठाएको छ भने अन्य जिल्लाबाट समेत पोखरा भित्राएको छ ।
हरियो प्लेटका गाडीहरुलाई समेत आफुहरुले स्कटीङ गर्ने गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी हरिबहादसर बस्नेतले बताउनु भयो । अलपत्र परेका करिव १ हजार २ सय जनालाई ४० वटा गाडी मार्फत स्कटिङ गरिएको जनाउनु भयो । तोकिएको भाडा भन्दा बढी लिएको खण्डमा प्रहरी वा ट्राफिकलाई खबर गर्न उहाँले आग्रह गर्दै उजुरी गरे तत्काल कार्वाही गर्ने चेतावनी दिनुभयो । निम्न माध्यमिक तहको लोकसेवा आयोगको परीक्षा दिन गण्डकी प्रदेशका विभिन्न परीक्षा केन्द्रहरूमा पुगेका विद्यार्थीहरूले यातायात बन्दका कारण ठूलो दुःख भोगेका थिए ।
गण्डकी प्रदेश सरकारले हालै लागू गरेको ‘राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमन तथा व्यवस्थापन नियमावली, २०८२’ को विरोधमा यातायात व्यवसायीहरूले यही जेठ १६ देखी यातायात सेवा ठप्प पारेका छन् । बन्दका कारण लामो तथा छोटो दूरीका बस, ट्याक्सी, र अन्य सार्वजनिक ढुवानी सेवा पूर्ण रूपमा प्रभावित भएको छ । गण्डकी प्रदेश सरकारले जेठ १, २०८२ मा राजपत्रमा प्रकाशित गरेको नियमावलीले निजी सवारी साधन (रातो नम्बर प्लेट) लाई यात्रु बोक्न अनुमति दिएको छ । प्रदेश सरकारले राइड सेयरिङ सम्बन्धी नियमावली ल्याएकोले त्यसको बिरोधमा आफुहरु आन्दोलनमा उत्र्रिन बाध्य भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशका संयोजक केदार पौडेलले बताउनुयभो । आफुहरुसंग राज्यले छलफल विना नीजि क्षेत्रको अबौं लगानी जोखिममा पारेर उक्त निर्णय गर्नु गलत भएको उहाँको भनाई थियो ।
जेठ १९ गतेदेखि भने देश भर सार्वजनिक यातायात सेवा समेत प्रभावित हुने यातायात व्यवसायीले चेतावदी दिदै आएका छन् । संघर्ष समितिले सोमबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नेपालको संविधानको मर्म विपरीत गण्डकी प्रदेश सरकारले गरेको निर्णय तत्काल खारेज गर्न माग गरेको महासंघ गण्डकीका महासचिव योगेन्द्र बहादुर केसीले बताउनु भयो । समितिले सो निर्णयले करिब ६५ प्रतिशत स्वरोजगार यातायात व्यवसायीको रोजगारी खोसिने, आम जनताको जीवनस्तर प्रभावित हुने तथा सार्वजनिक यातायात क्षेत्र नै संकटमा पर्ने उहाँले बताउनु भयो । तीन दिन देखि बन्दा सरकारले यस बिषयमा वार्तामा वोलाउने कुनै तयारी नगरेकोमा उहाँले चिन्क्ता व्यक्त गर्नुभयो ।






