
पोखरा १५, जेठ,
पोखरामा विहिबार सम्पन्न भएको पिएम कप एनभिए भलिबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन हेल्प नेपाल स्पोर्टस क्लब र नेपाल पुलिस क्लवले उपाधि रक्षा गरेका छन् । गत बर्षकै विजेता टोलीले यस बर्ष पनि पोखरामा भएको फाइनल खेलमा समेत जित हासिल गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएका हुन् ।

पोखरा रंगशालाको कभर्ड हलमा विहिबार भएको नवौ पिएम कप एनभिए भलिबल लिगमा घरेलु टोली पुरुष तर्फ गण्डकीलाई ३–२ को सेटमा पराजित गर्दै नेपाल स्पोर्टस क्लबले उपाधि जितेको हो । फाइनलमा पहिला दुई सेट २५–२० र २७–२५ ले गुमाए पनि पछिल्ला तीन सेट २५–२२, २५–१४ र १५–८ आफ्नो पोल्टामा पार्न सफल भयो ।
महिलातर्फ नेपाल पुलिस क्लबले पिएम कप एनभिए भलिबल लिगको उपाधि जित्न सफल भयो । टिप टप न्यु डायमण्ड युथ स्पोर्टस क्लबलाई ३–१ ले हराउँदै पुलिसले उक्त प्रतियोगितामा ह्याट्रिक गर्न सफल भएकोे छ । पुलिसले फाइनलमा २५–२०, २२–२५, २८–२६ र २५–१४ को सेटमा जित निकालेको हो ।
यता पुरुषतर्फ नै नेपाल पुलिस क्लबले तेस्रो स्थान हात पारेको छ । त्रिभुवन आर्मी क्लबलाई ३–१ ले हराउँदै पुलिस तेस्रो भएको हो । यस्तै महिलातर्फ एभरेष्ट भलिबल क्लबले तेस्रो स्थान प्राप्त गरेको छ । नेपाल एपिएफ क्लबलाई ३–१ सेटले हराउँदै एभरेष्टले तेस्रो भएको हो । प्रतियोगिताका उपाधि विजेता टोलीले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो स्थान हासिल गर्ने टोलीले २ लाख रुपैयाँ प्राप्त गरे । विधागत उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ पुरस्कार पाए ।
प्रतियोगितामा महिलातर्फ नेपाल पुलिसकी उषा भण्डारी र पुरुषतर्फ हेल्प नेपालका मुशवहर रजा उत्कृष्ट हुँदै जनही नगद रु ५०÷५० हजार हात पारे । विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल भलिवल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङ, परिषदका सदस्य सचिव श्रीधर शर्मा, टाईगर ग्रुप अफ पोखराका अध्यक्ष नारायण शर्मा, भूवतपूवृ खेलाडी मञ्चका पूर्व अध्यक्ष हरिबहादुर पराजुली लगायले पुरस्कार वितरण गरे ।





