
दीननाथ बराल,
पोखरा, ९ जेठ,
नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले पोखरामा क्रिकेट मैदान सहित पोखरा रंगशालाको भौतिक संरचना निर्माणको लागि आउँदो बर्षमा बजेट विनियोजन गरेको बताउनु भएको छ । नेपाल भलिबल संघको आयोजनामा नवौं संस्करणको प्रधानमन्त्री कप एन.भी.ए. महिला तथा पुरुष भलिबल लिग–२०८२ को विहिबार पोखरामा उद्घाटन गर्दै मन्त्री चौधरीले समग्र पोखरा क्षेत्रको खेलकुद प्रबद्र्धन गर्न आउँदो बजेटमा पोखरा रंगशाला सहित क्रिकेट मैदान मर्मत संहारको लागि आवश्यक बजेट विनियोजन गरिएको बताउनु भएको ।

यही जेठ १५ गते आउने बजेटमा यस बर्ष खेलकुदको धेरै बजेट समेटिएको उहाँले दाबी गर्नुभयो । उहाँले भन्नुभयो “ आउँदो बजेटमा खेलकुदमा धेरै बजेट समेटिएको छ, यसले युवामा आकर्षण बढ्ने हामीले विश्वास लिएका छौं, खेलकुदमा युवाहरुको लागि रोजगार र भौतिक पूर्वाधार निर्माणमा हामीले ध्यान दिएका छौं । ” युवाहरुको रोजगारको लागि तथा प्रशिक्षणको लागि स्थानिय तथा प्रदेश सरकारले समेत बजेट केन्द्रित हुने गरी बजेट विनियोजन गर्न मन्त्री चौधरीले आग्रह गर्नु भयो । काठमाण्डौंको दशरथ रंगशालाको कभर्डहल निर्माण हुदै गरेको मन्त्री चौधरीले बताउनु भयो । नवौं प्रधानमन्त्री कपमा सहभागि हुने टिम तथा सहयोगी दाताहरुलाई धन्यवाद दिदै सामाजिक क्षेत्रमा यसरी खेल क्षेत्रमा लगानी गर्न उहाँले दाताहरुलाई आग्रह गर्नु भयो । पोखराका मेयर धनराज आचार्यले पोखरा अब खेलकुदको शहरको रुपमा स्थापित हुदै आएको दाबी गर्नुभयो ।
यसैबिच, गण्डकी प्रदेशले नवौं पिएम कप भलिबल लिगको पुरुष तर्फको खेलमा जित हासिल गरेको छ । गण्डकीले कोशी प्रदेशलाई ३–१ को सेटमा ले पराजित गर्यो। पाकिस्तानी खेलाडी समावेस गरेको गण्डकीले २५–१५, २५–२१, २५–२२ र २५–२० ले कोशी प्रदेशलाई पराजित गरेको हो । त्यसअघि आज भएको पुरुष तर्फको पहिलो खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । एपिएफले सुदूरपश्चिम प्रदेश माथि २५–१९,२५–१६,२५–१६ को सोझो सेटमा पराजित गरेको हो ।
त्यसअघि महिलातर्फ एभरेष्ट भलिबल क्लब र एपिएफले विजयी सुरुवात गरेका छन् । एक साता चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ । सबैले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष ४ मा रहने टोलीले सेमिफाइनल यात्रा तय गर्ने भएका छन् । दुवै तर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्ने भएको संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले बताउनु भयो। सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।
संघले प्रतियोगितालाई भव्य र सफल बनाउन राष्ट्रिय खेलकुद परिषद, शिवम् सिमेन्ट, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, लोमस फार्मास्युटिकल्स लगायत विभिन्न साझेदारहरूको साथ लिएको छ । ‘चरक मेमोरियल अस्पताल’ मेडिकल पार्टनर र ‘बर्ड लिङ्क’ इन्टरनेट पार्टनरको रुपमा रहेका छन्।
यसैबिच, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पोखरालाई खेलकुदको हब बनाउनका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणका लागि सरकारले आगामी वर्षको बजेटमा व्यवस्था गर्ने बताउनु भयो । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले विहिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले पोखराको फुटबल स्टेडियमको मर्मत सम्भार र क्रिकेट रंगशालाका लागि बजेट विनियोजन गरिने बताउनु भएको हो ।






