नवौं प्रधानमन्त्री कप एन.भी.ए. भलिबल लिग जेठ ८ देखि पोखरामा सुरु हुने,पुरुष तर्फ ८ र महिला तर्फ ६ टिम सहभागि हुने

-


     पोखरा क्लिक     
     जेठ ६ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, ६ जेठ,

नेपाल भलिबल संघको आयोजनामा नवौं संस्करणको प्रधानमन्त्री कप एन.भी.ए. महिला तथा पुरुष भलिबल लिग–२०८२ यही जेठ ८ गतेदेखि पोखरामा सुरु हुने भएको छ । प्रतियोगिता पोखरा रंगशालामा रहेको बहुउद्देश्यीय कभर्डहलमा यही जेठ १५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको अन्तिम तयारी पुरा भएको आज(मंगलबार) पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपाल स्पोटर्स क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द क्लब बुटवल गरी ८ टिमको सहभागिता हुनु भएको संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले बताउनु भयो । महिलातर्फ नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, न्यू डायमण्ड यूथ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट क्लब बुटवल र कर्णाली प्रदेशका टिमहरूले प्रतिस्पर्धा गर्ने भएको उहाँले जनाउनु भयो । भलिबलको व्यवसायीकरण र युवा पुस्तालाई आकर्षित गर्ने उद्देश्यले प्रत्येक टिममा ३ जना विदेशी खेलाडी राख्न मिल्ने व्यवस्था गरिएको उहाँले जनाउनु भयो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने टिमहरूले क्रमशः रु. ८ लाख, ४ लाख र २ लाख नगद पुरस्कार प्राप्त गर्ने छन्। त्यस्तै, उत्कृष्ट खेलाडीले रु. ५० हजार, उत्कृष्ट लिब्रो, लिफ्टर, ब्लकर, सर्भर, स्पाइकर र प्रशिक्षकले जनही रु. २५ हजार पुरस्कार प्राप्त गर्न भएको संघका महासचिव रोशन श्रेष्ठले उल्लेख गर्नुभयो । प्रतियोगिता सम्पन्न गर्न ९० लाख खर्च हुने संघले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशी मात्रै ३२ लाख रहेको संघले जनाएको छ ।

संघले प्रतियोगितालाई भव्य र सफल बनाउन राष्ट्रिय खेलकुद परिषद, शिवम् सिमेन्ट, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, लोमस फार्मास्युटिकल्स लगायत विभिन्न साझेदारहरूको साथ लिएको छ । ‘चरक मेमोरियल अस्पताल’ मेडिकल पार्टनर र ‘बर्ड लिङ्क’ इन्टरनेट पार्टनरको रुपमा रहेका छन्।

संघले प्रतियोगितामा सहभागी खेलाडीहरूको दुर्घटना बीमाको समेत व्यवस्था गरेको उपाध्यक्ष याम बहादुर गुरुङले बताउनु भयो । पोखरालाई भलिवलको सिटिकोका रूपमा प्रचार गर्दै भलिबलको लोकप्रियतालाई थप विस्तार गर्न प्रतियोगिताले सघाउने आफुहरुले अपेक्षा गरेको अध्यक्ष चन्द्रले जनाउनुभयो । प्रतियोगितामा उत्कृष्ट हुने टोलीले नेपालकै नेतृत्व गरी माल्दीप्समा हुने काभा भलिवलमा छनौट हुने भएको छ ।