अन्नपूर्ण म्याराथन यही जेठ २० गते हुने, पालिका, प्रदेश, विदेशी धावकलाई बिषेश पुरस्कारको व्यबस्था

-


     पोखरा क्लिक     
     जेठ २ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा २, जेठ,

अन्नपूर्ण सेन्चूरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिका कास्कीको व्यवस्थापनमा पाँचौं संस्करणको अन्नपूर्ण म्याराथन–२०८२ यही जेठ २० गते हुने भएको छ । पर्यटनका लागि सबै मौसम भन्ने मूल नाराका साथ समितिले आयोजना गर्ने उक्त प्रतियोगिताको तयारी तिव्र पारिएको शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा समितिका अध्यक्ष एवं अन्नपूर्ण म्याराथन मुल आयोजक समितिका संयोजक ललित गुरूङले बताउनु भयो ।

अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसका दिनको अवसर पारेर प्रत्येक बर्ष अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म (१४२.१९५ किमी) को अन्नपूर्ण म्याराथन गर्दै आईरहेको छ । विशेषतः सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी ८ हजार मिटर भन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमानी राखेको सन्दर्भमा उक्त दिनलाई “अन्नपूर्ण आरोहण दिवस” का रूपमा मनाउने गरिन्छ । सोही दिनको सम्झनामा अन्नपूर्ण म्याराथन हुने भएकाले यसको छुट्टै ऐतिहासिक गरिमा रहेको संयोजक गुरुङको भनाई छ ।

अन्नपूर्ण आधारशिविरबाट आरम्भ हुने म्याराथन माछापुच्छ्रे आधार शिविर, वगर, देउँराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै घान्द्रुक आई समापन हुने गरी म्याराथन रुट कायम गरिएको समितिले जनाएको छ । म्याराथनमा पहिलो संस्करणको उपाधि त्रिभुवन आर्मीका हरिकुमार रिमालले जित्नु भएको थियो । दोस्रोमा डोटीका खगेन्द्रबहादुर भाटले, तेस्रो संस्करणको उपाधि जुम्लाका धीरबहादुर बुढा र महिला तर्फ गणना भण्डारीले जित्नु भएको हो ।

महिला तथा पुरुष दुबै तर्फका लागि हुने म्याराथनमा पहिलो, दोश्रो र तेश्रोहुनेले क्रमश नगद १ लाख ५० हजार, १ लाख र ७५ हजार साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । विदेशीका लागि प्रोत्साहन पुरस्कार स्वरुप विशेष पुरस्काको ब्यवस्था गरिएको छ । पुरुषतर्फ दर्ता शुल्क ७ हजार र महिलातर्फ ७ हजार तोकिएको छ । अन्नपूर्ण गाउँपालिका प्रथमलाई विशेष पुरस्कार, त्यसै गरी अन्नपूर्ण गा.पा. घर भई म्याराथनमा सहभागी भएको धावकलाई बिशेष पुरस्कार, गण्डकी प्रदेश प्रथमलाई विशेष पुरस्कार, महिलातर्फ निरन्तर ३ पटकसम्म सहभागी हुने धावकलाई विशेष पुरस्कार, विदेशी धावक (महिला तथा पुरुष) प्रथमलाई विशेष पुरस्कार र डायमण्ड जुब्ली अवार्ड ७५ औं स्थान प्राप्त गर्ने धावकले पाउने भएका छन् ।