
पोखरा, जेठ २,
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिराज अधिकारी (कुमार) ले योङ कम्युनिष्ट लिग (वाईसिएल) लाई देशमा उत्पादन हुने गरी आत्मनिर्भर बन्न सुझाव दिए । वाईसिएल गण्डकीको प्रथम सम्मेलनलाई आज पोखरामा सम्बोधन गर्दै उनले देशका अन्य युवा संगठनहरु भन्दा वाईसिएस फरक ढंगले प्रस्तुतः हुन आग्रह गरेका हुन् ।

उनले भने,‘वाईसिएल पार्टीको जनवर्गिय संगठन मात्र होईन, यो त पार्टीका उत्तराधिकारी संगठन हो, सहायक संगठन हो, त्यसैले यो संगठन धेरै प्रचण्डहरु जन्माउने संगठन बन्नुपर्छ ।’ यस संगठनले क्रान्तिकारीहरुलाई आकर्षित गर्न सक्ने हुनुपर्नेमा उनले जोड दिए । उनले वाईसिएलले पार्टीलाई च्यालेन्ज गरेर अघि बढ्ने दृढता देखाउनुपर्ने उल्लेख गरे ।
वाईसिएल नेपालका फ्रयाक्सन ईञ्चार्ज रामप्रसाद सापकोटा (दीपशिखा)ले वाईसिएल माओवादी पार्टीको सारथी बन्नुपर्ने बताए । माओवादीले २०८४ मा पार्टीप्रति जनताको उभार ल्याएर पहिलो पार्टी बन्ने लक्ष्य लिएको भन्दै सो लक्ष्यलाई साकार पार्न वाईसिएल सारथी बन्नुपर्ने उनको भनाई थियो । वाईसिएलका केन्द्रीय अध्यक्ष सुबोध श्रीपालीले पार्टी बलियो बनाउन वाईसिएल रातदिन खट्नुपर्ने बताए । समाजवादसम्म पु¥याउने पार्टीको सपनालाई साकार पार्न वाईसिएल लाग्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ, प्रदेश वाईसिएल फ््रयाक्सन ईन्चार्ज ताराप्रसाद भुषाल, प्रदेश ईन्चार्ज नरेश केसी, अखिल क्रान्तिकारी गण्डकी प्रदेश अध्यक्ष त्रिदेव गुरूङ, सहसंयोजक द्वय थमन गुरूङ, ईश्वर बस्याल र प्रदेश अध्यक्ष शरण सापकोटा लगायतले पनि बोलेका थिए ।
भोलिसम्म चल्ने सम्मेलनले नया नेतृत्व चयन गर्ने वाईसिएलका नेता विपीन आचार्यले जानकारी दिए । उनका अनुसार सम्मेलनमा गण्डकी प्रदेशका ११ जिल्लाका २५० जना प्रतिनिधि सहभागी छन् ।






