लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट सुरु, जलवायु परिवर्तन र प्रेस स्वतन्त्रताको चिन्ता

-


     पोखरा क्लिक     
     वैशाख २८ गते २०८२ मा प्रकाशित


पोखरा, २८ वैशाख,

नेपाल प्रेस युनियनको आयोजनामा पोखरामा भएको लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट अन्तर्गतको ‘पोखरा सेसन’ मा जलवायु परिर्वतन र प्रेस स्वतन्त्रताको विषयमा चिन्ता व्यक्त गरिएको छ । शुक्रबारदेखि सुरु भएको समिट अन्तर्गत आईतबार ‘पोखरा सेसन’ भएको हो ।

उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले पछिल्लो भएका समय जलवायु परिवर्तनका असर र मिडियाका चूनौतिका विषयमा चिन्ता व्यक्त गरेका हुन् । कार्यक्रममा मुख्यमन्त्री पाण्डेले जलवायु परिवर्तनले नेपालको हिमाली क्षेत्रमा पारिरहेको असरका बारेमा लोमान्थाङ अन्र्तराष्ट्रिय मिडिया समिटले विश्वमाझ पु¥याउन सघाउने बताए ।
‘जलवायु परिवर्तनले नेपाल र हिमाली क्षेत्रमा पारिरहेको असरको बारेमा लोमान्थाङ अन्र्तराष्ट्रिय समिटले धैरे विषयमा जानकारी दिने विश्वास लिएको छु’, उनले भने, ‘जलवायु परिवर्तनका कारण मुस्ताङ र मनाङका धेरै स्थानमा पानीका मुहान सुक्दै छन्, पानी नपर्ने क्षेत्रमा बाढी र पहिरोको जोखिम बढेको छ, यसको बारेमा यस मिडिया समिटले धेरै कुराहरु बुझाउने छ ।’ सोही अवसरमा मिडियामा पछिल्लो समय मिडियामा समस्या देखिएकाले यो समिटमा त्यसका बारेमा पनि छलफल हुनुपर्नेमा जोड दिएका थिए ।

पोखरा महानगपालिकाका मेयर धनराज आचार्यले जलवायु परिवर्तनको असर पोखराले भोगिरहेको बताए । ‘जलवायु परिवर्तनको असर पोखराले पनि भोगिरहेको छ, केही वर्ष अगाडि घाम लागिरहेको समयमा सेती नदीमा एक्कासी बाढी आयो’, मेयर आचार्यले भने । आगामी हुनसक्ने असर न्यूनिरकरणका लागि सजग हुनुपर्नेमा उनको जोड थियो । नेपाल उघोग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले अहिलेको डिजिटल युगमा कसरी अघि बढ्ने जिम्वेवार पूर्ण वहन गर्न आग्रह गर्नुभयो । जलवायु परिवर्तनको सामना गर्न रणनीति योजना बनाउन समिटले सहयोग पुन्ने उहाँले विश्वास व्यक्त गर्नु भयो ।

होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरा मुग्लिङ सडक एकतर्फी पिच सडक भएकोले पर्यटक आगमनमा सहज हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा अन्तर्राष्ट्रिय पत्रकार महासंघका (आईएफजे)का उपाध्यक्ष सविना ईन्दरजित, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे, नेपाल प्रेस युनियनका उपाध्यक्ष ऋषिकान्त पौडेल, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य लोकराज अवस्थी, नेपाल पत्रकार महासंघ, गण्डकीका अध्यक्ष रमेश पौडेल, गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारी लगायतले बोलेका थिए ।

औपचारिक कार्यक्रमपछि ‘जलवायु संकट र पत्रकारिता’ शिर्षकमा पहिलो सत्रमा छलफल भएको थियो । दोस्रो सत्रमा ‘एआई र न्यू मिडिया इन साउथ एसिया’ र तेस्रो सत्रमा ‘प्रेस स्वतन्त्रता र पत्रकारिता, अभ्यास तथा चुनौती’ विषयमा छलफल भएको थियो । सेसनमा नेपाली तथा विदेशी पत्रकार, विश्लेषकहरु सहभागी थिए । सेसनमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल, राष्ट्रिय समाचार समितका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झा, आईएफजेका उपाध्यक्ष सविना ईन्दरजित, बंगलादेशका पत्रकार खैरजमान कमल, भुटानका पत्रकार संजय राबटेन,वरिष्ठ पत्रकार किरण नेपाल, हरिबहादुर थापा नेपाल पत्रकार महासंघकी पूर्वउपाध्यक्ष बाला अधिकारीलगायतले सेसनमा छलफल गरेका थिए ।

समिटको चौथो दिन पोखरादेखि मुस्ताङसम्म मिडिया यात्रा र पाचौं दिन जोमसोममा स्थानीयले जलवायु परिवर्तनबाट खेपेका संकटबारे अन्तरक्रिया हुनेछ । सोही दिन लोमान्थाङमा लोमान्थाङ घोषणा पत्र जारी गरिने प्रेस युनियनका महासचिव दिलिप पौडेलले जानकारी दिए । समिटमा अन्तर्राष्ट्रिय पत्रकार महासंघका प्रतिनिधिसहित देशभरका १ सय ४० भन्दा बढी पत्रकार सहभागी छन् । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा भएको समिट अन्तर्गतको ‘पोखरा सेसन’ को सञ्चालन महासचिव दिलिप पौडेलले सञ्चालन र नेपाल प्रेस युनियन गण्डकीका अध्यक्ष टंक अधिकारीले स्वागत गरेका थिए ।