
पोखरा, वैशाख २५,
म्याग्दीको बेनीमा संचालित एकहप्ते सेल्फ मेकअप (स्किन केयर) तालिम सकिएको छ । पोखराको गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले सौन्दर्यकलाको सीप दिलाउन म्याग्दी सदरमुकाम बेनीमा निःशुल्क तालिम संचालन गरेको थियो ।
तालिममा म्याग्दीका विभिन्न विद्यालयबाट एसइई दिएर बसेका ३० जना छात्राहरुले भाग लिएका थिए । तालिमको समापनामा विद्यालयका प्राचार्य सरोज कोइरालाले छात्राहरुमा उद्यमशिलता विकास गराउनका लागि यस्तो प्रशिक्षण दिएको बताए । ‘सीप सिकेपछि जो कोही पनि स्वरोजगार बन्न सक्छ । यो तालिमले जो कोहीलाई स्वरोजगार बनाउँछ,’ तालिम समापनमा उनले भने, ‘स्वदेशमा मात्र नभई विदेशमा पनि स्किन केयरको कला आवश्यक छ ।’ पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा रामनाथ ओझाले सौन्दर्यकलाको माध्यमबाट युवापुस्तालाई स्वरोजगार बनाउने प्रयास थालेको बताए । ‘यो नितान्त सीपमुलक तालिम हो । यसले विशेषगरि महिलालाई उद्यमशील बनाउन सघाउँछ,’ उनले भने, ‘सबैतिर यो कलाको माग पनि रहेको छ ।
सौन्दर्यकलाको सीप जानेपछि कोही पनि बेरोजगार बस्नुपर्दैन । गाउँदेखि सहरसम्म सौन्दर्यकलाको सीपको कदर हुन्छ ।’
समापनमा बोल्दै प्रमुख अतिथि महिला उद्यमी महासंघ म्याग्दीकी अध्यक्ष अम्बिका श्रेष्ठले सहरमा मात्र नभई विदेशमा पनि सौन्दर्यकलाको उत्तिकै माग रहेको बताईन । सौन्दर्यकलाको सीप भएमा बेरोजगार बन्नु नपर्ने उनले बताइन् । सहरमा मात्र नभई सौन्दर्यकलाको माग अहिले गाउँमा पनि रहेको श्रेष्ठको भनाई छ ।
पोखराका उद्यमी कृष्णराज ढुंगानाले सीपमुलक पठनपाठन जरुरी रहेको बताए । विद्यालयमा सैद्धान्तिक ज्ञान मात्र अध्यापन हुने गरेकोमा अब त्यसलाई सीपमुलक शिक्षामा बदल्नुपर्ने उनले बताए । विद्यालयले अघिल्लो वर्ष पनि पोखरामा यस्तै प्रशिक्षण दिएको थियो । विद्यालयका अध्यक्ष ओझाले यो वर्ष पनि पोखरामा यस्तै तालिम प्रदान गर्ने तयारी भईरहेको जानकारी दिए ।
म्याग्दीको बेनीमा आयोजित सौन्दर्यकला सम्बन्धि तालिम समापनका सहभागि ।




