पोखरा ४ का वडा अध्यक्षले कर्मचारी र व्यवसायीलाई कुटेको अरोपमा जिल्ला प्रहरी कार्यालय घेराउ

-


     पोखरा क्लिक     
     वैशाख २३ गते २०८२ मा प्रकाशित


पोखरा, बैशाख २३,

पोखरा महानगरपालिका वडा नम्बर–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले कर्मचारी र व्यवसायी कुटेको आरोपमा जिल्ला प्रहरी कार्यालय (जिप्रका) कास्की घेराउ भएको छ । अध्यक्ष पराजुलीले प्रशासन शाखामा कार्यरत सातौं तहका अधिकृत ईश्वरीप्रसाद पोखरेल र सर्वश्वर मार्गमा सुवेदी कस्मेटिक पसल सञ्चालन गर्दै आएका व्यवसायी लेखनाथ सुवेदीलाई हातपात तथा दुव्यवहार गरेको आरोपमा कार्वाहीको माग गर्दै जिप्रका घेराउ गरेका हुन् ।

अध्यक्ष पराजुलीले मादक पदार्थ सेवन गरेर कर्मचारीलाई आन्तरिक रुपमा दिइएको तालिम कसलाई सोधेर आयोजना गरेको भन्दै कुटपीट गरेको तथा लछारपछार गरेको स्थानियले गुनासो गर्नुभयो । महानगर प्रहरीलाई लिएर फुटपाथको सामान उठाउन आउनु भएको अध्यक्ष पराजुलीले आफूलाई कुटपीट गरेको सुवेदीले गुनासो गर्नुभयो । ग्राहकको समान समेत लगेको उहाँले जनाउनु भयो । व्यवसायीहरुले वडा कार्यालय तथा जिप्रकामा केही वेर वडा अध्यक्षलाई कार्वाहीको माग गर्दै नारा जुलुस गर्नु भएको थियो ।

आफैले मत दिएर जिताएको वडाध्यक्ष पराजुलीले आफैमाथि कुटपीट गरेपछि सर्वेश्वर मार्गका व्यवसायीले उहाँ बिरुद्ध खनिनु भएको हो । कुटपीट गर्ने वडाध्यक्ष पराजुलीलाई कारवाहीको माग गर्दै प्रहरीमा जाहेरी दिन गए पनि प्रहरीले जाहेरी नलिएको पिडित व्यवसायी सुवेदीले बताउनु भयो । वडाध्यक्ष पराजुलीले भने आफु माथि आई लागे पछि प्रतिकारमा उत्र्रिएको बताउनु भयो ।