विहिबार देखि पोखरामा हुने प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा २ विदेशी सहित ६ टिम सहभागि हुने

-


     पोखरा क्लिक     
     वैशाख १६ गते २०८२ मा प्रकाशित


पोखरा, १६ वैशाख,

पोखरामा हुने अन्तर्राष्ट्रिय स्तरको प्रथम लायन्स कप पुरुष भलिबल प्रतियोगितामा २ विदेशी सहित ६ टिमको सहभागिता हुने भएको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा वैशाख १८ गतेदेखि हुने उक्त प्रतियोगितामा भारत र इरानको टिम २ विदेशी सहित ६ टिमको सहभागिता हुने मंगलबार पोखरा रंगशालामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

पोखरामा पहिलो पटक इन्डोर हलमा अन्तर्राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता हुन लागेको लायन्सका डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले जानकारी दिए । स्वदेशी टिमको रुपमा तीन विभागीयसहित गण्डकी प्रदेश रहनेछ । सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरेर लिग खेल खेलाइने। लिगपछि दुवै समूहमा शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल खेल बैशाख २२ गते हुनेछ । भारतको टोलीबाहेक सबै टोली पोखरा आइसकेको अर्यालले बताए ।

प्रतियोगिताका खेल हेर्नका लागि पहिलो, दोस्रो र तेस्रो दिनसम्म ३ सय, चौथो दिन अर्थात् सेमिफाइनल खेल हेर्न ४ सय र फाइनल खेलमा ५ सय टिकट दर तोकिएको छ । इन्डोर हलमा ३ हजार जनाले एकसाथ खेल हेर्न सकिने अर्यालले बताए । आयोजकका अनुसार इन्डोर हल व्यवस्थापन कार्य भइरहेको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप बनाउनका लागि आवश्यक प्रकाशको प्रबन्ध मिलाउने काम गरिएको छ ।

प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४४४ र उपविजेताले २ लाख ४४ हजार ४४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । तेस्रो हुने टोलीले १ लाख ४४ हजार ४४४ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४४४ र विधागततर्फ उत्कृष्ट हुनेलाई समान ८ हजार ४४४ रुपैयाँ प्रदान गरिने डिष्ट्रिक्ट गभर्नर अर्यालले बताए । लायन्सको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भलिबलको प्रवद्र्धन र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने लक्ष्य राखिएको अर्यालले उल्लेख गरे ।

प्रतियोगिता अनुमानित बजेट ८० लाख रहेको र प्रायोजकहरु र टिकट विक्रीबाट उक्त रकम उठाउने आयोजकले जनाएको छ । लायन्स क्लबको स्थापना अन्तर्राष्ट्रियस्तरमा १०७ वर्ष र नेपालमा ५३ वर्ष पूरा भएको परिप्रेक्ष्यमा नेपालको राष्ट्रिय खेल भलिबलाई प्रवर्द्धन गर्ने उद्धेश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको डिष्ट्रिक्ट गभर्नर अर्यालले जानकारी दिए ।

यसैबिच, उक्त भलिवल खेलमा दर्शकले घरमै बसेर टिकट बुक गर्न सकिने भएको छ । रेवल प्लेटफर्मले उक्त टिकट बुकिङको व्यबस्था मिलाएको हो ।



This will close in 20 seconds