
दीननाथ बराल,
पोखरा, ५ वैशाख,
नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले हिंसात्मक गतिविधि गर्नेलाई कार्वाही गर्ने चेतावनी दिनु भएको छ । पोखराको माउण्ट कैलाशमा आज (शुक्रबार) संचालन भएको गण्डकी प्रदेशस्तरीय सुरक्षा बैठकको बिहान उद्घाटन गर्दै गृहमन्त्री लेखकले हिंसात्मक गतिविधि गर्ने जो कोहीलाई कार्वाही गर्ने चेतावनी दिनु भएको हो ।
संविधान बिरोधी गतिविधि गर्ने जो कसैलाई क्षम्य नहुने उहाँले जनाउनु भयो । ७ दशकमा नेपालमा ७ पटक संविधान निर्माण भएको उल्लेख गर्दै उहाँले पछिल्लो पटक बनेको संविधान विश्वकै उत्कृष्ट भएको दाबी गर्दै संविधान भित्र रहेर बिरोध र सर्मथन गर्न पाइने तर संविधान बिरोधी र हिंसात्मक गतिविधि र बल जबरजस्ती गतिविधि गर्न भने नपाइने जनाउनु भयो । पूर्व राजाबादीको नाममा होस या अन्य कुनैका नाममा बिरोध गर्दा संविधान बिरोधी र हिंसात्मक गतिविधि गर्ने उपर सरकारले कडा कार्वाही गर्न बाध्य हुने चेतावनी दिनु भयो ।
सेवाग्राहीहरुलाई कुपन सिस्टमबाट फष्ट कम फष्ट सर्भिसको आधारमा (जो पहिला आउछ उसलाई) सेवा प्रदान गर्न गृहमन्त्री लेखकले निर्देशन समेत दिनु भएको छ । विपद्को उच्च जोखिम रहेका जिल्लाहरुमा पूर्व तयारी अबस्थामा रहन सुझाव दिदै उहाँले सकेसम्म पालिकाहरुमा गोदाम घर सहितको जोखिम व्यबस्थापन गर्ने पूर्व तयारी कक्षा स्थापना गर्न सुझाव समेत दिनु भयो ।
सुरक्षा निकायका प्रमुखहरुलाई लागु औषध नियन्त्रण गर्न, अपराधिक गतिविधिहरु नियन्त्रण गर्न गृहमन्त्री लेखकले आग्रह गर्दै आत्महत्या, सवारी दुर्घटना जस्ता नेपालमा समस्याको रुपमा अघि बढ्नु लागु औषधको मुख्य कारण भएको दाबी गर्नुभयो ।
गृहमन्त्री लेखक सहित ३ वटै सुरक्षा निकायका प्रमुखहरु बिहीबार साँझ नै पोखरा आई सक्नु भएको थियो । प्रदेशका ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुखहरु बैठकमा सहभागी हुनु भएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो । गृह मन्त्रालय र गण्डकी प्रदेश सरकारको संयुक्त रुपमा आयोजना भएको उक्त कार्यक्रममा प्रदेशको शान्ति सुरक्षाको अवस्थाका बारेमा छलफल तथा रणनितीक योजनाहरु समेत तयार पारिने भएको बताइन्छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा शान्ति सुरक्षा कायम गर्न सबै सुरक्षा निकायका प्रमुखहरु समयमै सचेत भई काम गर्न आग्रह गर्नुभयो । कार्यक्रम गृह सचिव गोकर्णमणि दुवाडीको अध्यक्षतामा हाल बैठक जारी रहेको छ ।






