पोखरामा आयोजित पर्यटक दौडमा लण्डनका साम प्रथम, १८ देशका ५५ सहभागी

-


     पोखरा क्लिक     
     चैत्र ३१ गते २०८१ मा प्रकाशित


पोखरा, ३१ चैत,

पोखरामा जारी २० औं फेवा नव वर्ष महोत्सव २०८२ को दोश्रो दिन आइतबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा लण्डनबाट आएका साम प्रथम भएका छन् । यसैगरी युके, रसिया र अमेरिकाका क्रमशः लियो, डेनिस र युसेफले द्वितीय, तृतीय र सान्त्वना स्थान हाँसिल गरे ।

महिला तर्फको छुट्टै मूल्यांकनमा फ्रान्सकी कोलिन प्रथम भइन् । फ्रान्सकी एलिजा द्वितीय भइन् भने रसियाकी मारिया तृतीय भइन् । चीनकी फ्लोराले सान्त्वना स्थान हाँसिल गरिन् । प्रतियोगितामा प्रथम हुनेले हाइ ग्राउण्ड एड्भेञ्चरबाट प्रदान गरिने बञ्जी सुविधा पाएका छन् । मायाको चिनो, प्रमाणपत्र, सिइङ हेण्ड्स ब्लाइण्ड मसाज क्लिनिकबाट मसाज सेवा र ब्यञ्जन रेष्टुरेण्टबाट खाना पनि उनीहरुले पाएका छन् ।

द्वितीय हुनेले हाइग्राउण्डबाट प्रदान गरिने एटिभी सेवा प्राप्त गरे । एटिभी चार पांग्रे विशेष खालको सवारीमा गरिने सहासिक यात्रा हो । यसैगरी सिइङ हेण्डबाट ५० प्रतिशत शुल्क छुटसहितको मसाज र ब्यञ्जनमा खाना सुविधा पनि उनीहरुले पाउने छन् । तृतीय हुनेले हाइग्राउण्डबाट जिपलाइन सेवा, सिइङ हेण्डबाट २५ प्रतिशत शुल्क छुटसहितको मसाज सेवा र व्यञ्जनमा खाना पनि पाउने छन् । सान्त्वना स्थान प्राप्त गर्नेले हाइग्राउण्डबाट स्वीङ सेवा लिने छन् । निःशुल्क टिसट, अन्नपूर्ण केवल कार र सिइङ हेण्डबाट ५० प्रतिशत छुटमा मसाज सेवा सबै सहभागीले पाएका छन् ।

खहरे र अम्बोट विचको दुई किलोमिटर लामो सडकमा रन फर फन नाम दिएर आयोजित दौडमा १८ देशका कूल ५५ पर्यटकले भाग लिएको प्रतियोगिता संयोजक हेमराज पहारीले जानकारी दिए । संघका अध्यक्ष लक्ष्मण सुवेदीले सहभागी पर्यटकलाई धन्यवाद दिंदै प्रतियोगिताले पोखराको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रमको संचालन संघका महासचिव राजेन्द्र ढकालले गरेका थिए ।

महोत्सव अन्तर्गत शनिबारको तालिकामा संस्थागत व्याडमिन्टन प्रतियोगिता, दोहोरी गीतका कार्यक्रम, लाइभ व्याण्ड, नृत्य, डिजे तथा विविध सांस्कृतिक कार्यक्रम रहेका थिए । महोत्सवको मुख्य प्रायोजकमा गोर्खा ब्रुअरी प्रा।ली, सह प्रायोजक वरुण वेभरेज लि।को पेप्सी, प्रायोजकहरुमा बन्दीपुर केवलकार लि। फोन पे, अन्नपुर्ण केवलकार लि, टोकला चिया रहेका छन् । इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स कम्पनी र प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, पोखरा महानगरपालिकका रहेका छन् ।



This will close in 20 seconds