पुम्दीकोटको महायज्ञबाट करिब डेढ करोड संकलन

-


     पोखरा क्लिक     
     फागुन १६ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा १६, फागुन,

पोखरा २२ को पुम्दीकोट बिशाल महादेवको मुर्ति परिसरमा आयोजना भएको श्रीमद्भागवत ज्ञान महायज्ञ एवं महाशिवरात्री महिमा बाट करिब १ करोड ५० लाख रुपैया आर्थिक संकलन भएको छ । फागुन ७ गते देखि सुरु भएको महायज्ञको आज औपचारिक रुपमा समापन गर्दै पुम्दीकोट कोट विकास समितिले उक्त रकम संकलन भएको जनाएको हो ।

महायज्ञ सम्पन्न गर्न करिब ७० लाख खर्च भएको समितिले जनाएको छ । महायज्ञबाट बचत भएको रकम त्यहाँको पर्यटन पूर्वाधार विकास निर्माणमा खर्च गर्ने योजना रहेको समितिका अध्यक्ष एवं मुल समारोहका संयोजक चन्द्रकान्त बरालले बताउनु भयो । पुम्दीकोट आउने पर्यटकहरुको एक दिनको बसाई अवधि लम्बाउने उद्धेश्यले पुम्दीकोटमा साँझमा लेजरलाइट मार्फत शिवको मुर्तिलाई पर्दा बनाई शिव ताण्डव नृत्य तथा महादेवको जीवन लीला सहितको बृत्तचित्र प्रर्दशन गर्ने उद्धेश्य रहेको उहाँले पोखराक्लिकलाई जनाउनु भयो ।

भुमेश्वर महादेव देखि सुमेरु पर्वतसम्म पहुचका लागि सिसाको पुल ग्लास बृज निर्माण गर्ने लक्ष्य समेत राखिएको छ भने हरियाली उद्यान बनाउने, पुम्दिकोटका मुख्य तीन द्वारहरु छोरेपाटन, तिलार र फलेटेमा शिव धामको गेट निर्माण गर्ने, मुल मुर्तिको मर्मत सम्भार गर्ने, दान दाताहरुको नाम शिलालेख र स्तम्भ बनाउने लगायतका उद्धेश्य रहेको अध्यक्ष बरालले बताउनु भयो । उक्त महायज्ञका प्रमुख वाचक भागवत मन्जरी माता राधिका दासी रहनु भएको थियो ।

यसैबिच, महायज्ञको शुक्रबार औपचारिक रुपमा समापन गर्दै महायज्ञ सफल पार्न सहयोग गर्नेहरु विभिन्न संघ संस्था तथा व्यक्तिहरुलाई प्रशंसा पत्रले सम्मान गरिएको समितिका व्यबस्थापक रुद्रनाथ पौडेलले बताउनु भयो । कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्ति प्रतिनिधि सभा सदस्य दामोदर पौडेल (वैरागी) ले समापन समारोहमा प्रशंसा पत्र वितरण गर्दै पुम्दीकोटको बिकासमा समन्वय गर्ने वचन दिनुभयो । समितिका अध्यक्ष चन्द्रकान्त बरालले महायज्ञ सफल पार्न सहयोग गर्नेहरुलाई धन्यवाद तथा आहार व्यक्त गर्नु भएको छ ।



This will close in 20 seconds