
पोखरा÷फागुन १४,
यसैबिच, पोखरा महानगरपालिकाको वडा नंं २६ को सिलिङ्गेमा १५ औं सिलिङ्गे महाशिवरात्री मेला बुधबार विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । महाशिवरात्री मेलाको उद्घाटन गर्दै पोखरा २६ का वडा अध्यक्ष नरेन्द्र थापाले सिलिङ्गे स्थित जटाशंकर धार्मिक क्षेत्रको विकासका लागि बृहत गुरुयोजना तयार गरेर अगाडी बढेको बताउनु भयो ।
वडाध्यक्ष थापाले गुरुयोजना अनुसारका कामहरुलाई आंशिक रुपमा पुरा गरिदै लगिएको उल्लेख गर्दै यस बर्ष एक करोडको लागतमा शिवलिङ्ग निर्माण प्रक्रिया अगाडी बढाईएको बताउनु भयो । यस बर्ष ५० लाख रुपैया विनियोजन भएको बताउँदै वडा अध्यक्षले थापाले नपुग रकमका लागि दाता खोज्ने कार्य भैरहेको उल्लेख गर्नु भयो । लेखनाथ र पोखराका क्षेत्रबाट देखिनेगरी विशाल शिवलिङ्गको निर्माण गरी धार्मिक पर्यटनसँग जोडिने अध्यक्ष थापाले बताउनु भयो ।
कार्यक्रममा हाइड्रो व्यवसायी पुष्पज्योति ढुंगानाले सिलिङ्गको विकासका लागि बनेको गुरुयोजनाका काममा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । व्यवसायी ढुंगानाले शिवलिङ्ग निर्माण कार्यमा आफु सम्वद्ध कम्पनीका तर्फबाट सहयोग जुटाउने समेत बताउनु भयो । महाशिवरात्रीको अवसर पारेर जटाशंकर मन्दिर परिसरमा निर्माण भएको महादेवको मूर्तिको समेत अनावरण गरिएको छ ।
मन्दिर परिसरको फाउण्टेन पार्कमा राखिएको महादेव मूर्तिको पोखरा महानगरपालिका वडा नंं २६ का अध्यक्ष नरेन्द्र थापा र नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटर पोखराका पृतनापति जर्नेल मधुकर सिंह कार्कीले संयुक्त रुपमा अनावरण गर्नु भएको हो ।





