सराङकोटमा आयोजना हुने महायज्ञमा सहभागि हुने भक्तजनलाई २ सय मै केवलकारको यात्रा गर्न पाउने

-


     पोखरा क्लिक     
     फागुन १३ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा १३, फागुन,

पोखरा १८ स्थित पर्यटकीय गाउँ सराङकोटमा आयोजना हुने श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् धार्मिक पर्यटन महोत्सवको अवसरमा महायज्ञ तथा महोत्सवमा सहभागि हुने भक्तजन एवं दर्शकहरुको लागि अन्नपूर्ण केवलकारले बिषेश छुटमा केवलकारमा यात्रा गराउने भएको छ । अन्नपूर्ण केवलकार कम्पनीले ७१ प्रतिशत छुटमा केवलकार सेवा दिने भएको हो ।

उक्त महायज्ञ एवं महोत्सवमा आउने आगन्तुक भक्तजनहरुको लागि जनही २ सय रुपैयाबाट यात्रा गराउने भएको अन्नपूर्ण केबुलकारका महाप्रवन्धक दिनेश पौडेलले बताउनु भयो । सराङकोट क्षेत्रको धार्मिक पर्यटन प्रबद्र्धन सहित धार्मिक एवं पर्यटकीय गन्तव्यहरु निर्माण गर्ने उक्त अभियान स्वरुप आयोजना भएको महायज्ञलाई सफल पार्न आफुहरुले उक्त प्याकेज ल्याएको उहाँले बताउनु भयो । यसलाई भने भक्तजनहरुले आयोजकसंग बिषेश छुट सहितको पास लिनुपर्ने महाप्रबन्धक पौडेलले बताउनु भयो । अन्य व्यक्तिहरुको लागि भने ७ सय रुपैया रहेको छ ।

महायज्ञको अवसरमा हाल उक्त केलवकारमा यात्रा गर्दा बिद्यार्थीहरुको हकमा २५ प्रतिशत र जेष्ठ नागरिकहरुलाई भने ५० प्रतिशत सहुलियत दिएको महाप्रबन्धक पौडेलले बताउनु भयो । हाल आफुहरुले २ वटा सटल बसबाट पोखराको लेकसाइडबाट निःशुल्क सटल बस सेवा संचालन गर्दै आएको उहाँले जनाउनु भयो ।

बुधबार देखि महायज्ञ सुरु हुने भएको छ । उक्त अवसरमा पोखराको पिसमपानी गार्यघाँटबाट कलश यात्रा गरिनेभ भएको छ । कलश यात्रामा सहभागि हुनेहरुलाई समेत अन्नपूर्ण केवलकारको निःशुल्क पासको व्यबस्था गरेको छ । सराङकोटमा निर्माण भएका विभिन्न भौतिक संरचनको राष्ट्रपति रामचन्द्र पौडेलबाट फागुन १७ गते औपचारिक उद्घाटन हुने भएको महायज्ञ मुल आयोजक समितिका अध्यक्ष प्रेम बहादुर जिसिले पोखराक्लिकलाई बताउनु भयो ।

भागवत् भाष्कर पण्डित कमलनयन गौतम महायज्ञका प्रमुख वाचक रहनुहुने भएको प्रचार संयोजक कृष्ण थापाले बताउनु भयो । सराङकोटमा सराङकोट धाम बनाउने उद्धेश्यले महायज्ञ आयोजना गर्न लागिएको प्रचार प्रसार समितिका सहसंयोजक बलराम तिमिल्सिनाले बताउनुभयो ।