
दीननाथ बराल,
पोखरा ७, फागुन,
चौतर्फी दबाबका बाबजुत यही फागुन ११ गतेदेखि १७ गतेसम्म पोखरा रङ्गशालामा हुने भनिएको विराट चक्र विज्ञानको कार्यक्रम स्थगित भएको छ । दुई दिन अघि यस पोखराक्लिक डटकमले प्रकाशन गरेको पोखरा रंगशालामा खेल मैदान अन्य कार्यक्रमलाई दिन दबाब, फुटवल प्रशिक्षण नै स्थगित शिर्षकमा प्रकाशन गरे पछि समाचार प्रभावका कारण आज (बुधबार) उक्त कार्यक्रम चौतर्फी दबाब आएसंगै स्थगित भएको हो ।

उक्त कार्यक्रमः अब हाल पोखरा रंगशालमा नहुने भएको छ । पोखरा रंगशालाको बैकल्पिक फुटवल (प्रशिक्षण) मैदान माचार केही दिन अघि प्रशारण भएकोमा चौतर्फी दबाब आएसंगै जीवन विज्ञान प्रतिष्ठानले हाल उक्त ठाउँबाट सो कार्यक्रम गण्डकी बाहेक अन्य क्षेत्रबाट सहभागि हुनेहरुको लागि स्थगित गर्दै गण्डकी प्रदेशको लागि करिब १ हजार जनालाई मात्र सहभागि गराउने तयारी गरेको छ ।

प्रतिष्ठानका व्यबस्थापक किरण रुपाखेतीले पोखरामा हावाहुरी सहित पानी परेर केही निर्माण हुदै गरेको टेण्ट नै भत्केका कारण पोखरा रंगशालमा हुने भनिएको कार्यक्रम हाल गण्डकी प्रदेश केन्द्रित हुने गरी पोखराको प्रर्दशनी केन्द्रमा हुने भएको बताउनु भयो । गण्डकी प्रदेश बाहेक अन्य प्रदेशका सहभागिहरुलाई उक्त कार्यक्रम हाल स्थगित गरिएको उहाँले जनाउनु भयो । पोखरा प्रर्दशनी केन्द्रको डोम भित्र करिब १ हजार जनाको लागि प्रशिक्षण गराउने तयारी गरिएको व्यबस्थापक रुपाखेतीले जनाउनु भयो । मंगलबार पोखरामा सामान्य रुपमा पानी परेको थियो ।
जिल्ला खेलकुद विकास समिति कास्कीले जीवन विज्ञान प्रतिष्ठानलाई एक साता विराट चक्र विज्ञान कार्यक्रम गर्न अनुमति दिए पछि उक्त फुटवल प्रशिक्षण मैदान विगत दुई साता अघि देखि अबरुद्ध हँुदा फुटवल प्रशिक्षण प्रभावित भएको एन्फा कस्कीका अध्यक्ष उज्वल रन्जितले गुनासो गर्नु भएको थियो ।
पोखरामा फुटवल खेलको तल्लो स्तरबाट माथि उकास्ने उद्धेश्यले किरण श्रेष्ठ, योगेन्द्र थकाली, शम्भु केसी र सन्तोष केसीको प्रशिक्षणमा हरेक दिन उक्त मैदानमा ८०÷९० जना बालिकहरुले फुटवल एकेडेमीको रुपमा प्रशिक्षण गराउदै आए पनि विगत दुई साता देखि प्रशिक्षण प्रभावित भएको उहाँले पोखराक्लिकलाई जनाउनु भएको थियो । अझै दुई साता भन्दा बढी समय उक्त मैदान अबरुद्ध हुदा एकेडेमीमा रहेका वालकहरुको प्रशिक्षणमा ठुलो असर पर्ने अध्यक्ष रञ्जितले दाबी गर्नु भएको थियो । सम्बन्धित खेल बाहेक अन्य खेल तथा कार्यक्रम असम्बन्धित खेल मैदानमा गर्न अनुचित भएको खेलकुदकर्मीको भनाई रहेको थियो ।
यस बिषयमा जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर बाँनियाले आयोजकले हाल पोखरा रंगशालाको फुटवल मैदानमा प्रतिकुल मौसमका कारण हाल उक्त कार्यक्रम नगर्ने जानकारी गराएको उल्लेख गर्नुभयो । आफुहरुसंग एक हप्ताको कार्यक्रम गर्ने भनेर सम्झौता गरे पनि करिब तीन साता देखि उक्त स्थलमा निर्माण कार्य जारी रहदा खेलकुदका गतिविधि हुने मैदान प्रभावित भएको उहाँले जनाउनु भएको थियो ।
आफुहरुले निश्चित शुल्क सहित निश्चित समयको लागि केही ठाँउहरु सम्बन्धित स्थानमा मात्र जग्गा भाडामा दिने योजना बनाए पनि केन्द्रबाट परिपत्र सहित दाबब आए पछि आफुहरुले चाहेर पनि रोक्न नसकेको उहाँको आशय थियो । समितिले उक्त फुटवल मैदान प्रयोग गरे वापतको प्रतिदिनको अन्तराष्ट्रिय खेलकुदका कार्यक्रम वा प्रतियोगिता गर्दा २० हजार, राष्ट्रिय रुपमा गर्दा १० हजार र स्थानिय रुपमा गर्दा ५ हजार शुल्क निर्धारण गरे पनि प्रतिष्ठानले यसको कुनै परिपालना नगरेको समितिका सचिव कन्चन थापा कोइरालाले बताउनु भएको थियो ।
यही फागुन ११ गतेदेखि १७ गतेसम्म पोखरा रङ्गशालामा हुने उक्त कार्यक्रममा करिब ६ हजार भन्दा बढीको उपस्थिति हुने उक्त प्रतिष्ठानका अमेरीकाका संयोजक तथा हाल पोखराका स्वयमसेवक लोक तिवारीले बताउदै आउनु भएको छ । पहिलो दिनको कार्यक्रम फागुन १० गते ‘गण्डकी स्वजागरण उत्सव’ हुने भएको छ ।




