
दीननाथ बराल,
पोखरा ३, फागुन,
पाहुना टोली उज्विकिस्तानको ब्ल्याक बुल्स फुटवल क्लवले आहा रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगितामा इतिहास रचेको छ । २४ औं संस्करणको आहा रारा पोखरा गोल्ड कपको उपाधि चुमेसंगै ब्ल्याक बुल्सले पोखरामा इतिहास रच्न सफल भएको हो ।

तष्विरः शुर्दशन रञ्जित
सहारा क्लवको आयोजनामा पोखरा रंगशालाको फुटवल मैदानमा आज (शनिबार) भएको फाइनल खेलमा नेपालको बलियो टिम नेपाल पुलिस क्लव लाई ३—१ को गोल अन्तरले पराजित गर्दै पाहुना टोली ब्ल्याक बुल्सले उपाधि जित्दै नयाँ इतिहास कोर्न सफ भयो । ब्ल्याक बुल्सको जितमा जाखोंगिर अख्माडोभ, एशिलवेक ओरिभजोनोभ र शभ्कतजोन स्याटोरोभले गोल गर्नु भयो भने पुलिको लागि ब्ल्याक बुल्सका डिफेण्डर खेलाडी अलीजोनले उपहार गोल दिनु भएको हो ।
खेलको ३१ औं मिनेटमा करिब ३० यार्ड टाडाबाट पाएको फ्रिकिक वललाई जाखोंगिरले सिधै पोष्टमा चार्ज गर्दा विपक्षि गोलरक्षक शत्रुधन चौधरीले बचाउन खोज्दा हातबाट फिल्क भई वलले जालु चुमेको थियो । खेलको ५९ औं मिनेटमा एशिलवेक र खेलको ६६ औं मिनेटमा शभ्कतजोनले गोल गर्नु भएको हो । पुलिसले पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा आहा रारा पोखरा गोल्ड कपको हालसम्मका सर्वाधिक सफलता हासिल गरेको टिम विदेशी टिमसंग पराजित हुदै उपविजेतामै चिक्त बुझाउनु पर्यो ।
पुसिलका प्रशिक्षक चेतन घिमिरेले खेलाडीको राम्रो तालमेल र पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा पराजित हुनु परेको बताउनु भयो । ब्ल्याक ब्लूका प्रशिक्षक अब्दुलाजीज निशोनवाएवले आफुहरुले पुलिस बिरुद्धको खेलमा रणनिती परिवर्तन गरी जित हासिल गरेको बताउनु भयो । प्रतियोगितामा ब्ल्याक बुल्सका शभ्कतजोन स्याटोरोभ उत्कृष्ट खेलाडी घोषित हुनु भयो । उहाँले एक थान इलेक्ट्रिक स्कुर उपहार प्राप्त गर्नु भयो । त्यसै गरी प्रतियोगिताको उत्कृष्ट गोलरक्षकमा ब्ल्याक बुल्सका जसुरबेक राजाबोभ, उत्कृष्ट डिफेण्डरमा ब्ल्याक बुल्सका अलीजोन अलीजोनोभ, उत्कृष्ट फरवार्डमा ब्ल्याक बुल्सका अजिजबेक खुर्सोन बोइभ, उत्कृष्ट मिड फिल्डरमा पुलिसका कप्तान राम वाजी, उत्कृष्ट प्रशिक्षकमा ब्ल्याक बुल्सका अब्दुलाजीज निशोनवाएव घोषित हुनु भएको छ ।
प्रतियोगिताको अनुशासित टिमहरु मध्य भारत सिक्किमको थन्डर वोल्टस् नर्थ यूनाइटेड घोषित भएको छ । विजयी खेलाडीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, हिमश्री फुड्स प्रालिका कार्यकारी निर्देशक प्रकाश केसी, निर्देशक किरण केसी, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्मा, क्लवका अध्यक्ष केशवराज बराल, प्रतियोगिताका संयोजक पूर्ण बहादुर गुरुङ लगायले पुरस्कार वितरण गर्नु भएको थियो ।
प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । क्लवका अध्यक्ष केशवराज बरालको अध्यक्षतामा प्रतियोगिता समापन भएको छ । माघ २२ गते देखि सुरु भएको प्रतियोगितामा ३ विदेशी सहित १२ टिमको सहभागिता रहेको क्लवका महासचिव रामजी प्रसाद अधिकारीले जनाउनु भयो । शनिबारको फाइनल खेलमा करिब १० हजार दर्शक भएको पोखराक्लिकको दाबी छ । प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ रहेको छ ।







