पोखरा भ्रमण बर्षमा २० लाख पर्यटक भित्राउने उद्धेश्य सहित बर्ष भरी विभिन्न पर्यटन प्याकेज र प्रबद्र्धन कार्यक्रम हुने

-


     पोखरा क्लिक     
     फागुन १ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा १, फागुन,

पोखरामा २० लाख पर्यटक भित्राउने उद्धेश्य सहित पोखरा भ्रमण बर्ष २०२५ को घोषणा हुने भएको छ । नेपाल सरकारका उपप्रधान तथा अर्थ मन्त्री विष्णु प्रसाद पौडेलको विशेष उपस्थितिमा भव्य समारोहका बिच पोखरा भ्रमण वर्षको घोषणा गर्ने तयारी गरिएको पोखराका मेयर धनराज आचार्यले विहिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताए ।


भ्रमण वर्ष घोषणाको पुर्वसन्ध्यामा पोखराका ३३ वटै वडाहरूबाट पहिचान सहितका झाँकी ¥याली पोखरा प्रदर्शनी केन्द्रसम्म गरिने भएको छ । पोखरालाई गत वर्ष मात्रै पर्यटन राजधानी सहर घोषणा गरिएको थियो । भ्रमण वर्षको अवधिभर क्रियाशील रहने गरी मेयर आचार्यको संयोजकत्वमा मूल समारोह समिति, एक निर्देशक समिति, पर्यटन व्यवसायी गोपी बहादुर भट्टराईको संयोजकत्वमा कार्यसम्पादन समिति र विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी ४३ वटा समितिहरू गठन गरिएको छ ।
बर्ष भरी विभिन्न पर्यटन प्याकेज सहितका कार्यक्रम पर्यटन प्रबद्र्धन तथा केही पर्यटनका भौतिक संरचना निर्माण समेत गर्दै भ्रमण बर्ष मनाउने भएको उनले जनाए । पोखराको अर्थतन्त्रलाई चलायमान बनाउँदै स्वच्छ पोखरा, स्वस्थ्य र खुसी पोखरेली बनाउने अभियानमा यो वर्षलाई आधार वर्षको रूपमा लिइएको मेयर आचार्यले बताए ।

पर्यटन राजधानी पोखरालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा ब्राण्डिङ्ग गर्न तथा पोखराको आन्तरिक एवं वाहृय पर्यटनलाई हाल सम्म कै उच्च विन्दुमा पुर्याउन, पोखराको प्राकृतिक, मानव निर्मित गन्तव्य स्थलहरूको प्रचार प्रसार गर्न र यी सम्पूर्ण क्षेत्रहरूको महत्व तथा अवस्थितिलाई जनसमक्ष पुर्याउन भ्रमण वर्षले सहयोग पुग्ने विश्वास गरिएको मेयर आचार्यले दाबी गरे ।

पोखरा भ्रमण वर्ष २०२५ लाई सफलतापूर्वक सम्पन्न गर्नका लागि नगर प्रमुख धनराज आचार्यको अध्यक्षतामा १ हजार ५ सय ५१ सदस्यीय मूल समारोह समिति र सो अन्तर्गत विभिन्न क्षेत्रहरूको प्रतिनिधित्व हुने गरी ४३ समितिहरू गठन गरिएको महानगरका प्रवक्ता मोतिराम तिम्सिनाले बताए । पोखरा भ्रमण वर्षका अवसरमा स्वदेशी र विदेशी गरी २० लाख पर्यटकहरु पोखरा भित्र्याउने लक्ष्यका साथ वर्ष भरि विभिन्न कार्यक्रम तथा गतिविधि सञ्चालन गरिने मेयर आचार्यले बताए ।
पोखरा नेपालको पर्यटन राजधानी पोखरालाई प्राकृतिक सुन्दरता, सांस्कृतिक वैभवता र साहसिक गतिविधिको अविस्मरणीय गन्तव्यका रूपमा स्थापित गर्न संसार भरका विदेशी, गैह्र आवसिय नेपाली तथा स्वदेशी पाहुनाहरूलाई सपरिवार तथा इष्टमित्र सहित पोखरा भ्रमण गर्न आह्वान गर्ने भएको छ । त्यसै गरी विभिन्न विकास साझेदार, विदेशी नियोग तथा राजदुतावासहरुसँग समन्वय गरी संसारका विभिन्न सहरहरूमा पोखरा बारे व्यापक प्रचारात्मक अभियान चलाउने र भ्रमणका लागि आह्वान गर्ने, विदेशमा रहेका नेपाली दूतावास, गैर आवासीय नेपाली संघ लगायत विभिन्नसँग संस्थाहरू तथा निकायहरूसँग समन्वय गरी पोखरा भ्रमण २०२५ लाई प्रवद्र्धन गरिदिन आह्वान गर्दै आवश्यक सहकार्य गर्ने मेयर आचार्यले जनाए ।

  विश्व भर रहेका नेपाली मूलका मन्त्री, सांसद, मेयर तथा जनप्रतिनिधिहरू सहित पोखरा सँग भगिनी सम्बन्ध स्थापित भएका सहरहरूलाई भ्रमण गर्न र गराउन औपचारिक निमन्त्रणा सहित  पहल कदमी लिने, भ्रमण वर्षको अवधिभर स्वदेशका ५ वटा र विदेशका ५ वटा गरी १० सहरसँग भगिनी सम्बन्ध कायम गर्ने तथा पोखरा विश्वविद्यालय, पोखरामा रहेका विश्व विद्यालय अन्तर्गतका आङ्गिक क्याम्पसहरू, उद्योग वाणिज्य संघ सहित निजी क्षेत्रमा क्रियाशील संघ संस्थाहरूसँग स्वदेशी वा विदेशी सोही प्रकृतिका संघ संस्थाहरूसँग भगिनी सम्बन्ध कायम गर्न पहल गर्ने उनले जनाए ।

  पोखरामा क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूलाई पोखरामा बैठक, इभेन्ट तथा भ्रमणकाका लागि आव्हान गर्न अनुरोध गर्ने, राष्ट्रिय स्तरका विभिन्न प्रतियोगिता तथा समिट आयोजना गर्ने र २०२५ भित्र पर्यटन क्षेत्रलाई लक्षित गरी लगानी टुरिजम ईन्भेष्मेण्ट समिटको आयोजना गर्ने, पोखराको ब्राण्डिङ्ग र मार्केटिङका लागि अभियान सञ्चालन गर्ने तथा भ्रमण वर्षलाई सहयोग पुग्ने विभिन्न प्रकाशन गर्ने, गैर आवासिय नेपाली सँघ एनआरएनए को सहजिकरण र सहकार्यमा विश्वभर पोखरा भ्रमण वर्षको प्रवद्धनात्मक कार्यक्रहरु सञ्चालन गर्न अनुरोध गर्ने मेयर आचार्यले जनाए । 
  त्यसै गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एयर कनेक्टिभिटी लागि आवश्यक पहलकदमी चलाउने र छिमेकी एवं मुलुकका मुख्य सहरहरूमा सिधा उडानको व्यवस्था गर्न पहल गर्ने, स्वास्थ्य, शिक्षा, खेलकुद, वेल्नेश, चलचित्र, भाषा साहित्य तथा सांस्कृतिक क्षेत्रको प्रवद्र्धन र विकासमा विशेष साझेदारीमूलक कार्यक्रमहरू सञ्चालन गर्ने, मुक्तिनाथ क्षेत्रको प्रवेशद्वार निर्माण, बोटानिकल गार्डेन, एयरपोर्ट लेकसाईड द्रुतमार्ग, हेरिटेज साइड, पन्चासे क्षेत्र विकास, १० ताल जोडिने साइकल लेन, इन्ट्रान्स पार्क, फिर्के खोला, फेवा किनार विकास, अग्र्यानिक ट्रेल तथा रोयल ट्रेलको पुन उत्थान लगायतका पर्यटन क्षेत्रलाई टेवा पुग्ने विभिन्न पूर्वाधारको निर्माण तथा सुरुवात गर्ने, पी.पी.पी. परियोजनाका माध्यमबाट सम्भावित विभिन्न पर्यटन क्षेत्रलाई टेवा पुग्ने परियोजनाको विकासका लागि आह्वान गर्ने तथा परियोजना अगाडी बढाउन प्राथमिकता दिने भएको मेयर आचार्यले जनाए । 

  पोखरा घरको निर्माण सँगै सूचना केन्द्र, पुस्तकालय, आर्ट ग्यालरी, घण्टा घर, शौचालय र स्नान कक्षको निर्माण सम्पन्न गर्ने, पोखराको पर्यटन क्षेत्रसँग सम्बन्धित निजी क्षेत्रको क्षमता अभिवृद्धि गर्दै अतिथि मैत्री बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने, विभिन्न मेला महोत्सव, प्रतियोगिता तथा समिटको महानगर स्वयंले प्रवद्र्धक गर्दै आयोजक रूपमा  कार्यक्रम संचलान गर्ने,     दिगो र उत्तरदायी पर्यटन विकासका लागि नीतिगत सुधार तथा योजना तयार पारी लागु गर्ने गराउने, नयाँ पर्यटकीय गन्तव्यहरूको खोजी, स्थापना तथा महानगरको कम्तीमा १ वडा १ पर्यटकीय गन्तव्य स्थापित गर्दै प्रचार प्रसार गर्ने, पाहुनाहरूलाई स्वागत, बिदाइ र कोसेलीका रूपमा लिन दिन मिल्ने वस्तु तथा सामाग्रीको उत्पादन र विकासमा सहजीकरण गर्दै उद्योग वाणिज्य संघको सहकार्यमा कोसेली घर निर्माण गर्ने मेयर आचार्यले जनाए । 

. वातावरण तथा खाद्य स्वच्छताका लागि विशेष कार्यक्रमका साथ प्रभावकारी अभियान सञ्चालन गरिने, पर्यटन राजधानी पोखरा आउने आन्तरिक तथा वाहृय पर्यटकको स्वास्थ्यलाई मध्य नजर गर्दै सेवा उद्योगमा आधारित पर्यटन व्यवसायीहरूलाई खाद्य सुरक्षा, वातावरण तथा पर्यावरणका सबन्धमा प्रवद्र्धनात्मक कार्यक्रम र व्यावसायिक क्षमता विकास लगायत कार्यक्रमहरूमा जोड दिइने, पोखरा भ्रमण वर्षका अवसरमा सरकारी र नीजि क्षेत्रका तर्फबाट पोखरा भ्रमणमा आउने पर्यटकहरुका लागि उपलब्ध गराउन सकिने प्याकेजहरु भ्रमण वर्षको औपचारीक घोषणा सभामा प्रस्तुत गरिने, पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट मित्रराष्ट्र चिन सहित विदेशका विभिन्न शहरहरुसँग सिधा उडानका लागि प्रदेश तथा संघ सरकारसँग निरन्तर समन्वय गरिने उनले जनाए । पोखरा महानगरपालिका भित्र सञ्चालनमा रहेको सार्वजनिक यातायातलाई थप व्यवस्थित, मर्यादित र सेवामैत्री बनाउन प्रविधिमा आधारित सेवाहरु आत्मसाथ तथा अवलम्वन गरिने भएको मेयर आचार्यले जनाउनु भयो । वातावरणमैत्री हरित यातायात प्रणालीको विकासका लागि विकास साझेदारहरुसँगको सहकार्यलाई प्रभावकारी बनाइने महानगरले जनाएको छ ।
निजी क्षेत्रको सहकार्यमा साहसिक पर्यटन प्रवद्र्धन, पारिवारिक तथा आरामदायी पर्यटन, धार्मिक तथा सांस्कृतिक पर्यटन, प्राकृतिक क्षेत्रको अध्ययन अनुसन्धान, स्थानीय खाना, भेष भूषा र जीवनशैलीको प्रवद्र्धन गर्ने, निजी क्षेत्र, सरकारी, गैर सरकारी संस्था, नेपाल पर्यटन बोर्ड, कूटनीतिक नियोग, एनआरएनए लगायतका संस्थाहरूसँग साझेदारी गर्दै पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा लाग्न र लगाउन महानगरले विशेष पहलकदमी लिने, यस अभियानबाट रोजगारीको अवसर वृद्धि, स्थानीय व्यवसायको प्रवद्र्धन, पोखराको ब्राण्डिङ्ग, अर्थतन्त्रको विकास, दिगो पर्यटन विकास,पर्यटकीय राजधानी स्थापित गर्न सहयोग पुग्ने, सूचना प्रविधि तथा सञ्चारका वित्तीय आयामहरूको प्रयोग, सहकार्य र अवसरका सिर्जना गर्दै स्थानीय मिडिया हाउस, सञ्चार क्षेत्रमा क्रियाशील हुने जनशक्तिको क्षमता विकास र नयाँ आयाम थप्न पहलकदमी लिने मेयर आचार्यले उल्लेख गरे ।