जरोटुप्पोले विविध कार्यक्रमका साथ १२३ औं जमजयन्ती मनाउँदै

-


     पोखरा क्लिक     
     माघ २३ गते २०८१ मा प्रकाशित


२३ माघ, पोखरा

जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले १२३ औं नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाउने भएको छ ।

संस्थाले नेपाली साहित्य र विशेष गरी नाट्य साहित्यका क्षेत्रमा अतुलनीय योगदान पु¥याएका समको योगदानको चर्चा स्थापनाकालदेखि विविध कार्यक्रमका साथ गर्दै आएको संस्थाका अध्यक्ष डा नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

२०८१ सालको सम जयन्तीमा बालकृष्ण सम विमर्श, स्रष्टा सम्मान तथा रचनावाचनसहित कार्यक्रम गर्न लागेको प्रवक्ता ताराबहादुर गुरुङ बताउँछन् ।

यसैबीच आफ्ना बाबाआमाको स्मृतिमा छोरी सीताकुमारी जिसी, नाति-बुहारीद्वय सविन/सुमित्रा र अश्विन/कल्पना जिसीको परिवारबाट स्थापना भई संस्थाद्वारा सञ्चालित इन्द्र–हुमा वाङ्मय सम्मान सोही समारोह बीच अर्पण गरिने भएको छ ।

गण्डकी प्रज्ञा–प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले नेपाली सुगम संगीतका क्षेत्रका सुप्रसिद्ध गीतकार हरिहर खनियालाई उक्त सम्मान अर्पण गर्ने सिफारिस गरेको थियो । संस्थाले हरेक दुई वर्षमा नगदसहित अर्पण गर्दै आएको सम्मानबाट यस अगाडि डा पुष्पा केसी भण्डारी सम्मानित भइसकेकी छन् ।

संस्थाले २०८१ माघ २४ गते ३ः३० बजे पोखराको न्यूरोडमा अवस्थित रिडर्स कर्नरको सभाहलमा एक समारोह बीच खनियालाई सम्मान अर्पण गर्ने निधो गरेको हो ।

लमजुङ जन्मथलो भई पोखरालाई कर्म भूमि बनाउँदै आएर यसपटक सम्मानित हुन लागेका खनियाका ‘मैले बाआमा त्यागेर रोजेको मायाले मलाई धोका दिई…’, ‘आज मेरो जन्मदिन हो…’, ‘म तड्पी–तड्पी मर्दा…’ ‘सबको पिरतीमा घरबार हुन्छ’लगायतका दर्जन गीत चर्चामा छन् । उनी गीतकार प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्षसमेत हुन् ।



This will close in 20 seconds