२४ औं आहा ! रारा पोखरा गोल्ड कप माघ तेश्रो साता देखि हुने

-


     पोखरा क्लिक     
     पौष २४ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा २४, पुष,

२४ औं संस्करणको आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता–२०८१ को आउँदो माघ महिनाको तेश्रो साता देखि हुने भएको छ । मोफसलको चर्चित सहारा क्लब पोखराले आगामी माघ २२ देखि फागुन ३ सम्म पोखरा रंगशालामा उक्त प्रतियोगिता संचालन गर्ने तयारी गरेकोे क्लवका अध्यक्ष केशवराज बरालले बताउनु भयो ।

१२ दिन चल्ने प्रतियोगितामा ए डिभिजनका क्लव, विभागिय टिम, आयोजक सहित केही विदेशी टिम गरी १२ टिम सहभागी गराउने तयारी भएको उहाँले जनाउनु भयो । ‘आत्मा साक्षी राखी मन वचन र कर्मले सामाजिक सेवा गरौं’ भन्ने उद्देश्य अनुरुप फुटबल मार्फत सहारा क्लब सामाजिक सेवा निरन्तर क्रियाशील रहेको क्लब महासचिव रामजीप्रसाद अधिकारीले बताउनु भयो ।

क्लबले पोखरा १७, दोबिल्लामा सूर्यबहादुर के.सी. स्मृति सहारा फुटबल एकेडेमी संचालन गरेको छ । हाल चौथो ब्याजको रुपमा एकेडेमीमा आश्रित कठिन परिस्थिति र विपन्न वर्गका ३० जना बालकहरु रहनु भएको छ ।

फुटबल प्रतियोगिताबाट हुने आम्दानी एकेडेमीमा आश्रित बालिकहरुको उचित शिक्षादीक्षा, आवास र दैनिक फुटबल प्रशिक्षणमा क्लबले खर्च गर्दै आएको अध्यक्ष बरालले बताउनु भयो । “खेलकुदको विकासमा सहकार्य गरांै, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने सन्देश मूलक उद्देश्यका साथ पोखरा रंगशालामा साढे दुई दशकदेखि बर्सेनि आयोजित यो प्रतियोगिता पोखराको पहिचान बनाएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउ हो । गत वर्षको विजेता त्रिभुवन आर्मी फुटबल क्लब र उपविजेता थ्री स्टार क्लब ललितपुर हुन् । विजेताले १२ लाख र उपविजेताले ६ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका थिए । पोखरा महानगरपालिका संरक्षक छ भने अफिसियल बैंक लुम्बिनी विकास बैंक, अफिसियल एयरलायन्स बुद्ध एयर रहेका छन् ।