
दीननाथ बराल,
पोखरा १६, पुष,
पर्यटनको राजधानि पोखरामा जारी पोखरा सडक महोत्सवको अवसरमा आज (मंगलबार) राति १२ः०० बजे आतिसबाजी हुने भएको छ । पोखरामा जारी २६ औं संस्करणको सडक महोत्सवको अवसरमा महोत्सवमा आगन्तुक स्वदेशी तथा विदेशी पाहुनाहरुलाई आकर्षण सहित नयाँ अग्रेंजी बर्ष २०२५ को स्वागतार्थ मंगलबार राति आतिसबाजी हुने भएको श्रोतले पोखरा क्लिकलाई जनाएको छ ।

अघिल्ला बर्ष झै यस बर्ष पनि विधि र प्रकृया पूरा गरी आवश्यक स्थानमा समन्वय गरी उच्च सावधानिका साथ आतिसबाजी गर्ने तयारी गरिएको रेवानले जनाएको छ । यस बिषयमा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले रेवान पोखराले गृह मन्त्रालयबाट आवश्यक प्रकृया पूरा गरी कास्की प्रशासनसंगको समन्वयमा पोखराको सडक महोत्सवको अवसरमा आतिसबाजी गर्ने अनुमति लिएको बताए । मंगलबार बेलुका देखि रातिसम्म अध्याधिक भिडभाड हुने पोखराको लेकसाइड क्षेत्रमा आवश्यक शान्ति सुरक्षाको ब्याबस्था उपयुक्त ढंगले गर्ने उनले जनाए । पोखरा लेकसाइडको ट्राफिक ब्याबस्थापन देखि शान्ति सुरक्षा दिने, आवश्यक स्थानमा सीसी क्यामराको निगरानी समेत गर्ने भएको छ ।

यही पुष १३ गते देखि जारी महोत्सवमा मंगलबार दिउँसोेसम्म करिब १ लाख ५० हजार दर्शक भित्रिएको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले बताए । अफ्सिजनमा पोखरा क्षेत्रको पर्यटन प्रबद्र्धन गर्न आयोजना गरिएको महोत्सवले पोखराको लेकसाइड मात्र नभई पोखरा क्षेत्रको पर्यटन प्रबद्र्धनमा धेरै सहयोग पुर्याएको उनले जनाए । पोखरा सडक महोत्सवले पोखराको पर्यटन प्रबद्र्धनमा कोषेढुंगा सावित भएकोले यसलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न सबैको साथ र सहयोगको अपेक्षा गरिएको निवर्तमान अध्यक्ष नरेश भट्टराईले जनाए ।

पोखराको लेकसाइड क्षेत्रमा विभिन्न कला संस्कृति झल्कने झाँकी सहितको नृत्य, गित संगित, खाना लगायत विभिन्न खेलकुदहरु महोत्सवमा समावेस गरिएको महोत्सव संयोजक बिकास भट्टराईले बताए ।





