
दीननाथ बराल,
पोखरा १४, पुष,
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा हँुदा संघियताको बिषयमा चर्को भाषण गर्नेहरु संघ सरकारमा पुगे पछि मौन बसेको आरोप लगाउनु भयो । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको नव निर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापन समारोहमा आइतबार पोखरामा सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले पहिला माग्ने ठाँउमा हुनेहरु हाल दिने ठाँउमा हुदा पनि प्रदेशको बारेमा मौन बस्ने गरेको उहाँले बताउनु भयो ।
संघको देखासिकी गरी हुबहु स्थापना गरिएका संस्थाहरुको अब मुल्याङकन गर्नुपर्ने समय आएको मुख्यमन्त्री पाण्डेले बताउनु भएको हो । उहाँले भन्नुभयो “जे जे संघ सरकारकामा छ, त्यो प्रदेशमा पनि हु बहु नक्कल गरिएको छ, यसको औचित्य थियो कि थिएन, प्रदेशमा संरचना गर्न त्यसको आवश्यकता हो की होइनन्, त्यसको कुनै अध्ययन विना स्थापना गरिएको छ, यसले प्रदेशलाई कति नतिजा दियो त यसको अब मुल्याङकन गर्नुपर्ने समय आएको छ ।” जसको ५÷७ बर्षमा आएर मुल्याङकन गर्दा प्रशासनिक खर्च बाहेक त्यसको प्रतिफल खासै नदेखिएको उहाँले गुनासो गर्नु भयो । संघका हु बहु संस्थाहरु प्रदेशमा स्थापना हुनुले आफुहरुलाई काम गर्नमा केही कठिनायी भएको समेत मुख्यमन्त्री पाण्डेको भनाई थियो ।
प्रदेश सरकार प्रति संघ सरकारले व्यवास्था गरेको अबस्थामा पत्रकारहरुले समेत खासै ध्यान नदिएको उहाँले गुनासो गर्नु भयो । प्रदेशको समाचार नलेखे पनि संघका मन्त्रीहरु हप्ताको ३ पटक यहाँ आएको अबस्थामा यहाँका पत्रकारहरुले काम पाएको मुख्यमन्त्री पाण्डेको टिप्पणी थियो । प्रदेश सरकारले गरेका राम्रा नराम्रा कामको मुल्याङकन सहितको समाचार खासै नआएको उहाँको गुनासो थियो । पत्रकारले आफ्नो पेशागत मर्यादामा रहेर काम गर्न मुख्यमन्त्री पाण्डेले आग्रह गर्नुभयो ।
हिजो यही काम गरेकाहरु आज संघ सरकारमा पुगेर पनि प्रदेश सरकारको विकासको लागि खासै नवोल्ने गरेको उहाँले दाबी गर्नुभयो । केही बर्ष पहिला प्रदेश सरकारमा हुनेहरु प्रदेशको बिषयमा तत्कालिन अबस्थामा चर्का चर्का भाषण र विक्तियका कुरा गर्नेहरु हाल संघिय सरकारमा पुगे पछि भने प्रदेश सरकारको बिषयमा मौन बस्ने गरेको मुख्यमन्त्री पाण्डेको आरोप थियो । कसैले प्रदेशको बारेमा मैले यो अनुभव गरेको हो यी अधिकारहरु दिनु पर्छ भनेर वोलेको आफुले थाहा नपाएको उहाँले तर्क गर्नु भयो । कानूनका अभावनमा प्रदेशले काम गर्न सक्दैन भनेर संघ सरकारमा कोहि वोल्न नचाहेको उहाँको भनाई थियो ।
अहिलेको समाजले पत्रकारिता र सामाजिक संजाललाई छुट्टाउन नसक्दा पत्रकारिता पेशा माथि नै चुनौती थपिएको उहाँले बताउनु भयो । सामाजिक संजालमा आउने हरेक कुरा समाजले समाचार हो भनेर बुभन थालेकोले त्यसलाई बुझाउन नसक्नु पत्रकारिता पेशा माथि चुनौती थपिएको मुख्यमन्त्री पाण्डेले बताउनु भयो । यसलाई बुझाउन नसके पत्रकारको इज्जत, प्रतिष्ठामा ठुलो आच आउने उहाँले जनाउनु भयो ।
निर्वाचन समितिका संयोजक एवं अग्रज पत्रकार कोमलनाथ बरालले पत्रकारको हकहितमा नयाँ नेतृत्वले खरो रूपमा उत्रिने विश्वास व्यक्त गर्नु भयो । महासंघ गण्डकीका निवर्तमान अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका प्रेस रजिष्टार बिमला भण्डारी, महासंघ गण्डकीका निवर्तमान उपाध्यक्ष दीपक भट्टराई, निर्वतमान महासचिव गोविन्द सुवेदी लगायतले पत्रकारको बिषयमा चर्चा गर्नु भयो । रमेश पौडेलको नेतृत्वमा नेपाल पत्रकार महासंघ गण्डकीको हालै सम्पन्न भएको अधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित हुनु भएको थियो ।






