एनपिएलको बिजेता जनकपुरलाई एक करोड दश लाख पुरस्कार, उत्कृष्ट खेलाडी एरीलाई कार उपहार

-


     पोखरा क्लिक     
     पौष ६ गते २०८१ मा प्रकाशित


काठमाडौँ ६, पुष,

नेपालमा पहिलो पटक आयोजना भएको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधि जनकपुर बोल्ट्सले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुरले पहिलो संस्करणको एनपिएलको उपाधि जितेको हो । उपाधि सहित जनकपुरले ट्रफिसहित एक करोड दश लाख प्राप्त गरेको छ । उपविजेता टोली सुदूरपश्चिम रोयल्सलाई रु ५१ लख प्रदान गरिएको छ ।

फाइनल खेलपछि आयोजित पुरस्कार वितरण कार्यक्रममा नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले संयुक्त रुपमा उक्त पुरस्कार प्रदान गर्नु भएको हो। उक्त रकम बराबरको चेक उहाँहरुले जनकपुरका कप्तान तथा खेलाडी आशिफ शेख र अनिल शाहलाई प्रदान गर्नुभएको हो ।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उपविजेता टोली सुदूरपश्चिम रोयल्सलाई नगद सहित पुरस्कृत गर्नुभयो । तेस्रो हुने कर्णाली याक्स र चौथो हुने टोली चितवन राइनोजले क्रमशः रु २५ लाख र १५ लाख प्राप्त गरे । तेस्रो र चौथो हुने टोलीलाई गृहमन्त्री रमेश लेखक र मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चेक हस्तान्तरण गर्नुभएको हो । प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषीत हुनु भएको सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले कार उपहार प्राप्त गर्नु भएको छ ।

नेपाली क्रिकेट इतिहासमा खेल खेलेर कार पाउने कप्तान ऐरी पहिलो खेलाडी हुनु भएको छ । एनपिएलमा उत्कृष्ट प्रदर्शन गर्नुभएका ऐरीले ‘इलेक्ट्रिक फाइिङ प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड प्राप्त गर्दै करिब रु ६२ लाख मूल्य पर्ने ओमोडा ‘इ’ फाइभ डिएलएक्स कार प्राप्त गरेका हुन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान), ब्रान्ड डिजिटल लजिक प्रालि र शारदा ग्रुपले संयुक्त रूपमा एपिएलमा उत्कृष्ट प्रदर्शन खेलाडीलाई कार प्रदान गर्ने निर्णय गर्नु भएको थियो । ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्स एनपिएलको पहिलो संस्करणमा उपविजेता बनेको हो । कप्तान ऐरीले एनपिएलका नौ खेलबाट दुई सय २७ रन जोड्दै नौ विकेट लिनु भएको थियो ।