प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा सातै प्रदेशका प्रदेश सभाका पदाधिकारी पोखरामा

-


     पोखरा क्लिक     
     पौष २ गते २०८१ मा प्रकाशित


पोखरा २, पुष,

प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा सातै प्रदेशका प्रदेश सभाका पदाधिकारी पोखरामा भेला हुनु भएको छ । पोखरामा आज (मंगलबार) देखि सुरु भएको अन्तर व्यवस्थापिका सम्मेलनमा सहभागि हुन प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा सातै प्रदेशका प्रदेश सभाका पदाधिकारी पोखरामा भेला हुनु भएको हो ।

बुधबारसम्म चल्ने सम्मेलनले पोखरा घोषणा पत्र समेत मंगलबार जारी गर्ने भएको छ । उक्त सम्मेलनको सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो । सभामुख घिमिरेले संघीयता कार्यान्वयनसँग जोडिएका कानूनहरू निर्माण गर्न ढिला भएको बताउनु भएको छ । आगामी अधिवेशनमा ती विधेयक पारित गर्न संसदले सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै उहाँले आधारभूत रुपमा संघीयताको पक्षमा भएका र संविधान निर्माणमा योगदान गरेका दलहरू नेतृत्वमा रहेकाले संविधान अनुकूल निर्माण गर्नुपर्ने कानून बन्नेमा विश्वास व्यक्त गर्नु भयो ।

सभामुख घिमिरेले संघीयतालाई बलियो बनाउने कानून निर्माण गर्न संसदको प्रयत्न र प्रयास पर्याप्त रहे पनि परिणाम आउन नसकेको उल्लेख गर्नुभयो । प्रमुख राजनीतिक शक्तिहरूले जिम्मेवारी बोध गरेर अगाडि बढ्नुपर्ने बताउदै सभामुख घिमिरेले नागरिकको विकास आकांक्षा पूरा गर्ने तिर केन्द्रित हुन सांसदहरुलाई अपिल समेत गर्नु भयो । संसारमा संसद प्रभावकारी भएमात्रै सरकारले सेवा प्रवाहमा सुधार गर्ने उदाहरण पेश गर्दै सभामुख घिमिरेले लामो राजनीतिक आन्दोलनले धेरै व्यवस्थाहरू परिवर्तन भए पनि अब निर्माणका लागि सबै शक्ति एक हुनु पर्ने समय आएको जनाउनु भयो ।

संघीय संसद र प्रदेश सभालाई प्रभावकारी बनाउन अन्तर व्यवस्थापिका सम्मेलन सफल हुने विश्वास व्यक्त गर्दै सभामुख घिमिरेले संविधान संशोधनको बहसका बीच भएको संघीय संसद र प्रदेश सभा सहितको सम्मेलन अर्थपूर्ण रहेको तर्क गर्नु भयो । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले प्रदेश सरकारले दिने डेलिभरीमा भएका समस्याबारे गम्भीर समीक्षा गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो “ प्रदेश सरकारले चाहेर पनि कतिपय कानूनको अभावले संघ र प्रदेशबीच खाडल र अन्तरविरोध देखिएको छ । ” गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जति संसद सक्रिय हुन्छ, त्यति नै सरकार जवाफदेही हुने दाबी गर्नु भयो । संविधान अनुकूल कानून निर्माणको काम ढिला भएको त्यसका लागि संसदले समेत प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उहाँले जनाउनु भयो ।

संसदलाई बिजनेस दिन संघीय संसद र स्वयं माननीयजीहरूले पनि कानून बनाउन बाध्य पार्न सक्ने मुख्यमन्त्री पाण्डेले तर्क गर्नुभयोे । गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले संघीयतालाई बलियो बनाउन तथा संविधान अनुकूलका कानून बनाउन सम्मेलन सफल हुने विश्वास व्यक्त गर्नु भयो । नेकपा एमाले गण्डकी प्रदेश सभा संसदीय दलका नेता खगराज अधिकारीले छोटो समयमा संघीयताको संरचना बनाए पनि प्रयाप्त कानून नबनाउदा केही कठिनायी भएको बताउनु भयो । संघीयतालाई बलियो बनाउन प्रदेशलाई चाहिने कानून संघीय सरकारले छिटो बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।