
दीननाथ बराल,
पोखरा २७, मंसिर,
पोखरा महानगरपालिका वडा नम्बर १५ मा रहेको हार्वड एकेडेमीमा आउँदो शनिबार देखि हार्वड खुल्ला स्क्र्यावल प्रतियोगिता २०८१ हुने भएको छ । स्क्र्यावल क्लवको प्राविधिक सहयोगमा आइतबार दुई दिन सम्म संचालन हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको विहिबार बिद्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको हो ।

प्रतियोगितामा १२ जिल्लाका १ सय जना खेलाडीहरु सहभागि हुने भएको बिद्यालयका प्रधानाध्यापक श्रीकृष्ण अधिकारीले बताउनु भयो । प्रतियोगिता विभिन्न उमेर समुह यू—१२, यू—१४, यू—१६ र यू—१८ को इभेण्टमा प्रतिष्प्रर्धा हुने भएको उहाँले जनाउनु भयो । विजेता खेलाडीलाई जनही ३ हजार सहित ट्रफी र प्रमाणपत्र वितरण गरिने भएको छ । स्क्र्यावल क्लवको सहकार्यमा हुने प्रतियोगितामा खेलाडीहरु आवासिय सहित दर्ता गर्दा प्रति खेलाडी २ हजार ५ सय र खाना सहितको दर्ता गर्दा भने १ हजार २ सय रुपैया शुल्क निर्धारण गरिएको बिद्यालयले जनाएको छ । बिद्यार्थीहरुको लागि नेपाली तथा अग्रेंजी भाषाको विकासको लागि उक्त खेल महत्वपूर्ण हुने प्रधानाध्यापक अधिकारीले जनाउनु भयो । उक्त खेललाई आफुहरुले प्याब्सन कास्कीमा समेत समेट्ने प्रयास गरेको उहाँले जनाउनु भयो । उक्त कार्यक्रम सम्पन्न गर्न करिब १० लाख ६० हजार खर्च लाग्ने बिद्यालयले जनाएको छ ।
स्क्र्यावल क्लव नेपालको पहिलो र एकमात्र शव्दसञ्जाल खेलको आधिकारिक संस्था हो । अँग्रेजीका अतिरिक्त नेपाली र गणितका स्क्र्यावलहरु पनि तयार गरी प्रयोगमा ल्याएको यस क्लवले आयोजना गरेका विभिन्न कार्यक्रमहरू यसै क्लवको फेसवुक ग्रुप तथा व्लगबाट समेत सार्वजनिक छन् । यसको सम्पर्क कार्यालय पोखरा सार्वजनिक पुस्तकालय वा अमेरिकन कर्नर पोखरा रहेको छ ।
प्रतियोगिता संचालनको लागि सिमित बोर्ड हाल करिब ५० वटा र गोटी समेत कम भएकोले गर्दा चाहेर पनि दुई दिनको खेलमा १ सय जना भन्दा बढी सहभागि गराउन नसकिने भएको क्लवका अध्यक्ष केशवप्रसाद पराजुलीले बताउनु भयो । विश्वका १ सय २० भन्दा बढी देशमा ४ हजार भन्दा बढी क्लवहरूको संयोजनमा २० भन्दा बढी भाषाहरूमा खेलिने स्क्र्यावल हाल नेपालमा भने ४० भन्दा बढी जिल्लाहरूमा यो खेल परिचित भैसकेको क्लवका सहकोषाध्यक्ष नविन पन्तले बताउनु भयो ।





