
दीननाथ बराल,
पोखरा २५, मंसिर,
चितवन सौराहका पर्यटन व्यवसायी पोखरामा आउनु भएको छ । आउँदो पुष ११ गते देखि सुरु हुने चितवन हात्ती तथा पर्यटन महोत्सव २०८१ मा निम्तो दिन चितवन सौराहका पर्यटन व्यवसायीहरु पोखरा आउनु भएको हो । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना तथा यूनाईटेड हात्ती संचालन सहकारी संस्था लि.र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपालको सह आयोजनामा यही पौष ११ देखि १५ गतेसम्म हुने उक्त महोत्सवमा सहभागिताको लागि चितवनको टोली पोखरा आएको हो ।

कोभिडको कारण ३ बर्ष स्थगित भएको उक्त महोत्सव यस बर्ष देखि पुनः संचालन हुने भएकोले तयारी स्वरुप टोली प्रचार अभियान तथा निम्तो दिन पोखरासम्म आएको मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा संघ चितवनका उपाध्यक्ष ओम शर्माले बताउनु भयो ।
विश्व सम्पदामा सूचीमा सूचिकृत नेपालकै पहिलो राष्ट्रिय निकुन्ज चितवन राष्ट्रिय निकुन्ज पर्यटकीय गन्तब्य मात्र नभई सौराहा जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानीको रुपमा प्रख्यात राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा समेत परिचित रहेको उपाध्यक्ष शर्माले दाबी गर्नु भयो ।
२०५५ सालबाट सुरु भएको हात्ती महोत्सवको कारण हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटकहरुको आगमनमा वृद्धि हुने गरेको कार्यक्रमः संयोजक रामकुमार अर्यालले उल्लेख गर्नु भयो । हात्ती महोत्सवलाई सफल बनाउन तीनै तहका सरकार सहित वन मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पर्यटन बोर्ड र चितवन राष्ट्रिय निकुञ्जको सहयोग हुने भएको छ ।
सौराहा लगायत चितवनका अन्य पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसारमा हुने उक्त महोत्सवले थप टेवा पुग्ने रत्न नगर पर्यटन परिषदका अध्यक्ष भोजराज तिवारीले बताउनु भयो । प्लाष्टिकजन्य पदार्थहरुलाई पनि निरुत्साहित गर्दै डिजिटल प्रविधिबाट कार्यक्रमहरुको प्रवर्द्धन गर्ने बन्यजन्तु तथा वातावरण मैत्रीको लागि प्रक्ति अनुकुल स्टल र स्टेजहरु निर्माण गरिरहेको संघका सचिव महेश खनालले जनाउनु भयो ।
महोत्सव अन्तर्गत हुने उल्लेखित विभिन्न गतिविधिमा करीब ८० वटा हात्ती सहभागी गराइने भएको उहाँले जनाउनु भयो ।महोत्सवका आर्कषणहरुमा जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानी घोषणा कार्यक्रम, हात्तीको श्रृंगार प्रतियोगिता, हात्ती वनभोज, हात्तीकोमैत्री फुटवल पेनाल्टी प्रतियोगिता, हात्तीमैत्री म्यूजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिका स्तरीय डुङ्गा रेस प्रतियोगिता, स्वदेशी तथा विदेशी टुर एण्ड ट्राभल एजेन्सीहरुसंग वि टु बि, चितवनमा पर्यटनको सम्भावना र चुनौती सम्बन्धी अन्तर्क्रिरया कार्यक्रम, स्थानीय भेषभुषा तथा कला संस्कृक्ति सहित झाँकी प्रदर्शन, राष्ट्रिय तथा स्थानीय कलाकारहरु द्वारा दैनिक साँस्कृतिक कार्यक्रम हुने भएको छ । त्यसै गरी महिला उद्यमी तथा स्थानीय कृषि उत्पादनको प्रवर्धन, सम्मान तथा पुरस्कार वितरण लगायतका कार्यक्रम हुने भएको छ । पोखराक्लिकको जिज्ञासामा महोत्सवमा २५ देखि ३० प्रतिशत जसो छुट हुने आयोजकले जनाएको छ ।
उक्त महोत्सव रत्ननगर वडा नं.७, बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा हुने भएको छ भने रत्ननगर नगरपालिका महोत्सवको संरक्षकको रुपमा रहेको छ । त्यसै गरी संस्कृति तथा पर्यटन मन्त्रालय, बागमती प्रदेश, चितवन राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, नेपाल पर्यटन बोर्डको कार्यालय, भुकटी मण्डप र पर्यटन कार्यालय, सौराहा महोत्सवको प्रबद्र्धकमा रहेका छन्। कार्यक्रममा नेपाल होटल संघ गण्डकीका अध्यक्ष हरिशर्मा गैरेले चितवन र पोखरामा हुने पर्यटकीय विभिन्न कार्यक्रममा दुई शहर बिच सहकार्य र समन्वय हुदै आएको बताउनु भयो ।



