
पोखरा १९, मंसिर,
पोखरामा १८ औं सस्करणको प्याब्सन स्पोर्टस मिट २०८१ सुरु भएको छ । पोखरा रंगशालामा सुरु भएको उक्त प्रतियोगिताको पहिलो दिन एथलेटिक्स छात्रा सिनियर कक्षा ११–१२ तर्फ ८०० मिटर दौडमा प्रतिभा माविकी मेनुका अधिकारीले २ मिनेट ५१.३६ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक जितिन् ।

टप्स माविकी सविना खातुन मियाँले ३ मिनेट ८.६४ सेकेण्डमा उक्त दुरी पार गरी दोस्रो र डायमण्डकी सुष्मा सापकोटाले ३ मिनेट २१.५२ सेकेण्डमा उक्त दुरी पार गरी तेस्रो भएकी छन् । यस्तै छात्र सिनियर कक्षा ११–१२ तर्फ १५०० मिटर दौडमा ४ मिनेट ५७.१७ मिनेटको समय खर्चिर्दै बालप्रभात माविका सन्तोष सुवेदी पहिलो भए भने प्रतिभा माविका अजय तामाङले ४ मिनेट ५७.५९ सेकेण्डको समय लिंदै दोस्रो र करुणानिधिका युनिक परियार ४ मिनेट ५८.६७ सेकेण्डको समयमा दुरी पार गरी तेस्रो भए ।

स्पोर्टस् मिटमा कक्षा १ देखि १० सम्मका विद्यार्थीबीच विभिन्न खेलमा प्रतिस्पर्धा सुरु भएको छ । प्रतियोगितामा छात्र–छात्रा सिनियर फुटबल, छात्र जुनियर फुटबल, छात्र–छात्रा भलिबल, छात्र–छात्रा ह्याण्डबल, छात्र–छात्रा टेबलटेनिस र एथलेटिक्सका खेल हुदैछन्। यस्तै कक्षा ११ र १२ का विद्यार्थीबीच छात्र–छात्रा भलिबल, छात्र–छात्रा बास्केटबल, छात्र–छात्रा एथलेटिक्सका खेलहरु ५ दिनसम्म सञ्चालन हुनेछन् । प्रतियोगितामा प्याब्सन कास्कीका ९९ विद्यालय मध्ये ८८ विद्यालयहरुको सहभागिता रहेको छ । करिब ४५ लाख रुपैयाँ खर्च लाग्ने प्रतियोगितामा ८ हजार खेलाडीहरुको सहभागिता रहेको छ ।
यसैबिच, उक्त स्पोट्र्स मिटको उद्घाटन गर्दै नेपाल सरकारका युवा तथा खेलकुद मनत्री तेजुलाल चौधरीले खेलकुदको आधार बिद्यालय भएकोले यस्ता प्रतियोगितालाई निरन्तर रुपमा संचालन गर्न सुझाव दिए । नेपालको खेलकुदमा गण्डकी प्रदेशका खेलाडीहरुको अहम भूमिका रहेको बताउँदै मन्त्री चौधरीले भने–“उद्योगी तथा व्यवासायीहरु संग सामाजिक उत्तरदायित्व अन्तर्गत तथा प्रदेश र स्थानिय तहका सरकारहरु संग मिलेर हामी खेलकुदको विकासको गतिलाई अघि बढाउने संगै पूर्वाधार विकासलाई समेत उत्तिकै महत्व दिएर अघि बढ्ने छौं ।”
कास्की प्याब्सनले नेपाली खेलकुदमा खेलाडी उत्पादनमा अहम भूमिका खेलेको दाबी गर्दैै आफ्ना विद्यार्थीहरुलाई राष्ट्रियता, अनुशासन, मेहनत र लगनशिलतालाई समेत आत्मसात गराउनु पर्ने मन्त्री चौधरीको जोड थियो ।
नेपाली खेलकुदको विकासका लागि निजी क्षेत्रको सहभागिताले खेलकुद विकासको गति लिएको बताउँदै शिक्षाको क्षेत्रले सवल नागरिक उत्पादनमा मात्रै नभई राष्ट्रका लागि समेत खेलाडी उत्पादनमा समेत ध्यान दिन आग्रह गरे । खेलकुदको क्षेत्रमा सरकारले कम बजेट विनियोजन गर्दै आएको बताउदै मन्त्री चौधरीले अब भने बजेट बढाउने वचन दिए ।
मंसिर २३ गते सम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन समारोहमा मन्त्री चौधरीले प्याब्सनको खेलकुदमा लामो समयदेखि योगदान पु¥याएकोमा शिक्षा सेवी कर्ण गुरुङलाई सम्मान गरेका थिए ।उद्घाटन सत्रमा पोखराको मेयर धनराज आचार्य, प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर बानियाँ लगायको उपस्थिती रहेको थियो । प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्याब्सनका केन्द्रिय अध्यक्ष डिके ढुङ्गान, १८ औं प्याब्सन स्पोर्टस मिटका संयोजक उमा लामिछाने, सचिब पुष्पराज पराजुलीले खेलकुदको बारेमा चर्चा गरेका थिए ।





