पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीमा फास्ट चार्जर हस्तान्तरण, ३० मिनेटमै चार्ज गर्न सकिने

-


     पोखरा क्लिक     
     मंसिर १८ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा १८, मंसिर,

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीको प्रधान कार्यालय पोखरा (फिर्के) मा फास्ट चार्जर जडान हुने भएको छ । पछिल्लो समयमा कम्पनीले विद्युतीय गाडी संचालन गदै आएसंगै अबको एक साता भित्र फाष्ट चार्जर जडान गर्ने भएको कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले बताउनु भयो ।

उक्त कम्पनीमा करिब १ हजार ३ सय ९७ वटा सवारी साधनहरु रहेकोमा अब बिस्तारै बिद्युतीय गाडीहरु राख्न लागेकोले फाष्ट चार्जर स्टेशन सचालन गर्न लागेको उहाँले जनाउनु भयो । एकै पटकमा दुई वटा सवारी साधनमा चार्जर गर्न मिल्ने गरी चाजिङ स्टेशनको व्यबस्थापन गर्न लागेको अध्यक्ष केसीले जनाउनु भयो । हाल आफुहरुसंग पोखरा काठमाण्डौं, पोखरा बागलुङ, पोखरा भरतपुर, पोखरा लुम्बिनी लगायतका रुटमा बिद्युतीय गाडीका सवारी साधनहरु संचालन गर्न सुरु गरेको उहाँले जनाउनु भयो । उहाँका अनुसार हाल करिब ६० वटा बिद्युतीय गाडी कम्पनी मार्फत संचालन भएका छन्। कम्पनीले अब बिद्युतीय गाडीमै विस्तारै रुपान्तरण गर्ने योजना रहेको अध्यक्ष केसीले जनाए ।

यसैबिच, सिजी मोटर्स प्रालि र प्रालि अन्तर्गतको डिलर टिटि ग्लोबल प्रालिले आज(मंगलबार) एक समारोहका बिच चार्जिङ कम्पनीलाई हस्तान्तरण गरेको हो । सिजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले मंगलबार आयोजित एक कार्यक्रमका बीच पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीलाई उक्त चार्जर हस्तान्तरण गर्नु भएको हो ।

चार्जिङ स्टेसन विस्तार भएपछि विद्युतीय गाडी चार्ज गर्नका लागि यातायात व्यवसायीलाई सहज हुने अध्यक्ष केसीले जनाउनु भयो । सिजि मोटर्सले देशभर २ सय भन्दा बढी स्थानमा एक बर्ष भित्र फास्ट चार्जिङ स्टेसन स्थापना गर्ने योजना बनाएको प्रालिका प्रमुख कार्यकारी अधिकृत अग्रवालले बताउनु भयो ।

टिटि ग्लोबलले केवाइसी, किङलङ, नेटा, रिडारा र अभतारको बिक्री वितरण गर्दै आइरहेको छ । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष केसीले विद्युतीय गाडीमा आकर्षण बढिरहेकाले चार्जिङ स्टेसनको पूर्वाधार विकास हुनुपर्ने बताउनु भयो ।

चार्जिङ स्टेसन तथा अन्य पूर्वाधार विकासमा सिजी मोटर्स र टिटी ग्लोबल प्रतिबद्ध रहेको टिटी ग्लोबलका निर्देशक प्रमेश पराजुलीले बताउनु भयो । टिटि ग्लोबरले पोखराको नयाँबजार, अर्चलवोटमा यस अघि ३ ठाँउमा चाजिङ स्टेशन राखेको छ । न्यूनतम २० प्रतिशत चार्ज भएका गाडीहरुमा ३० मिनेटमै १०० प्रतिशत चार्ज हुने चार्जर मेसिन आफुहरुले पोखरामा भित्राएको निर्देशक पराजुलीले जनाउनु भयो ।

वातावरण मैत्री तथा नेपालको पेट्रोलिय पदार्थको कम खपत गर्न बिद्युतीय सवारी साधनलाई प्रथामिकता दिन उहाँले आग्रह गर्नु भयो । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका प्रवन्ध निर्देशक ज्ञानबहादुर केसीले कम्पनीले समय अनुसारको सेवा विस्तार गर्दै जाने बताउनु भयो ।