एनपीएलको फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सलाई स्टेप बाई स्टेप मा. वि. पोखरामा स्वागत तथा सम्मान

-


     पोखरा क्लिक     
     मंसिर ९ गते २०८१ मा प्रकाशित


पोखरा ९, मंसिर,

नेपाली सिनियर क्रिकेट टोलीका ओपनर व्याड्सम्यान तथा अलराउन्डर, पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेललाई पोखराको स्टेप बाई स्टेप माविले स्वागत तथा सम्मान गरेको छ । आइतबार विद्यालयमा एक कार्यक्रम आयोजन गर्दैँ मार्की खेलाडी कुशल भुर्तेलसहित पोखरा एभेन्जर्सको टिमलाई विद्यालयले मायाको चिनो प्रदान गरी आउँदो पहिलो संस्करणको नेपाल प्रिमियर लिगको लागि शुभकामना प्रदान गरेको हो ।

मार्की खेलाडी भुर्तेलले विद्यालयको क्रिकेट अभ्यास मैदानको उद्घाटन गर्दै उनले एनपीएलमा पोखराको प्रतिनिधित्व गर्न पाउँदा खुसी लागेको बताए । उनले विद्यालयले खेलकुदलाई पनि विशेष प्राथमिकतामा राखेको बताउँदै यस स्टेप बाई स्टेपका विद्यार्थीमा मार्की खेलाडी बन्न सक्ने क्षमता रहेको उल्लेख गरे ।

कार्यक्रममा विद्यालयका संस्थापक निर्देशक रमाकान्त बरालले एनपीएलमा गण्डकी प्रदेशको प्रतिनिधित्व गरेको पोखरा एभेन्जर्सलाई जितको शुभकामना दिएका थिए । उनले विद्यार्थी पठनपाठनसँगै खेलकुदमा पनि उत्तिकै सहभागी हुन आवश्यक रहेको टिप्पणी गरे ।

यस्तै विद्यालयका सहप्राचार्य दिपक गिरीले विद्यार्थीमाझ क्रिकेटको ज्ञान र रुचि बढाउन कार्यक्रम आयोजना गरिएको बताए । उनले स्वगत गर्दै एसिया कप २०२३ मा भारत विरुद्वको खेलको स्मरण गर्दै त्यस्तै उत्कृष्ट खेलको कामना गरे । आफू पनि क्रिकेट प्रेमी भएको बताउदै उनले कुशल भुर्तेलको क्याप्टेनसीमा रहेको पोखरा एभेन्जरको क्रिकेट टिमले नेपाल प्रिमियर लिग खेलमा उत्कृष्ट खेल प्रदर्शन गरी विजेता बनोस् भनी शुभकामना व्यक्त गरे । साथै पूर्व क्रिकेट क्याप्टेन तथा क्यानका सचिव पारश खड्काको योदानको स्मरण गर्दै यस्ता लिग खेलको माध्यमबाट नेपालको क्रिकेट खेल धेरै उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।

संस्थापक निर्देशक रमाकान्त बरालको सभापतित्वमा सञ्चालित कार्यक्रममा सह प्राचार्य दिपक गिरीले स्वागत मन्तव्य राख्नुभएको थियो भने विद्यालय संयोजक सूर्यप्रसाद लम्सालले सञ्चालन गर्नुभएको थियो ।