सहाराको देउँसी भैलोबाट १२ लाख संकलन, आहा राराको घाटा देउसी भैलोले राहत

-


     पोखरा क्लिक     
     कार्तिक २९ गते २०८१ मा प्रकाशित


पोखरा २९, कार्तिक,

गत बर्षको २३ औं संस्करणमा करिब १५ लाख घाटा व्यहोरेको सहारा क्लवले यस बर्षको देउसी भैलो कार्यक्रमबाट धेरै राहत मिलेको छ । उक्त प्रतियोगिता र देउसी भैलोको बचत रकम सहारा फुटवल एकेडेमीमा खर्चिदै आएको सहारा क्लवलाई देउसी भैलो कार्यक्रमबाट १२ लाख रुपैया संकलन भएसंगै धेरै राहत भएको छ ।

मोफसलको चर्चित क्लब सहाराले स्थापनाकालदेखि नै नियमितरुपमा देउसीभैलो खेल्दै आएको छ । ‘संस्कृतिको जगेर्ना गरौं, सहारा फुटबल एकेडेमीलाई सहयोग गरौं’ भन्ने उद्देश्यसाथ तिहारमा ५ दिनसम्म पोखराका विभिन्न भागमा भएको देउसी भैलोबाट १२ लाख ९ हजार ३ सय १५ रुपैयाँ संकलन भएको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।

कार्यक्रमका लागि क्लब सहकोषाध्यक्ष अशोक लालचनलाई संयोजक तोकिएको थियो । पोखरा १७, दोबिल्लामा क्लबले सहारा फुटबल एकेडेमी संचालन गरेको छ । उक्त एकेडेमी संचालनका लागि क्लबले फुटबल प्रतियोगितासहित यसप्रकारका देउसी भैलो कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । एकेडेमीमा हाल चौंथो ब्याचको रुपमा विभिन्न जिल्लाका ३० जना बालकहरुले निःशुल्क आवासीय सुविधासहित शिक्षा, दीक्षा लिनुका साथै नियमित फुटबल सिकिरहेका छन् ।

यसैबीच, क्लब अध्यक्ष केशवराज बरालले देउसीभैलोमा सहयोग गर्ने सम्पूर्ण संघसंस्था, दाता, व्यक्ति विशेष लगायतप्रति धन्यवाद ज्ञापन गरेका छन् ।