रास्वपाको आन्दोलनको क्रममा पत्रकार माथि हातपात भएको घटनाको भत्सना

-


     पोखरा क्लिक     
     कार्तिक ५ गते २०८१ मा प्रकाशित


पोखरा ५, कार्तिक,

पत्रकारका विभिन्न संघ संस्थाले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को आन्दोलनको क्रममा रिपोटिङमा खटिएका पत्रकार तथा संचारकर्मी माथि हातपात भएको घटनाको भत्सना गरिएको छ । पत्रकार महासंघ कास्की, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, अनलाइन पत्रकार संघ गण्डकी लगायतका संघ संस्थाले पत्रकार माथि भएको हातपातको घटनाको भत्सना गरेका हुन् ।


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा पोखरामा भइरहेको आन्दोलनको समाचार सङ्कलन गर्न गएका पत्रकार माथि आइतबार भएको हातपात र सञ्चार सामाग्री तोडफोडको घटनाप्रति नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको गम्भिर ध्यानाकर्षण भएको सोमबार जारी गरेको प्रेस विज्ञेप्तिमा उल्लेख छ ।
पोखराको शहीद चोकमा भएको प्रदर्शनको समयमा समाचार सङ्कलनमा गएका एपीवान टेलिभिजनका गण्डकी ब्युरो प्रमुख एवं यस मञ्चका सदस्य सागरराज तिमिल्सिना र पोखराको सुनगाभा डटकमका समाचार प्रमुख एवं मञ्चका सदस्य सुशान्त गाहामगर प्रदर्शनकारीको तर्फबाट भएको ढुंगा प्रहारबाट घाइते हुनुभएको छ । उहाँहरू दुवैको हातमा चोट लागेको छ भने गाहामगरले प्रयोग गर्ने क्यामेरा समेत फुटेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी दुवैजनाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

यसैगरी प्राइम टेलिभिजनमा प्रत्यक्ष प्रसारणमा संलग्न पत्रकारहरू निरज तामाङ, अनिता घिमिरे र क्यामेरा पर्सन अर्जुन भण्डारी माथि हातपात गर्नुका साथै क्यामेरा तोडफोडको प्रयास भएको छ । नागरिकलाई सुसूचित गराउन सञ्चारकर्ममा खटिरहेका पत्रकारमाथि भएको आक्रमण अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रता माथिको प्रहार हो। यस घटनाले पत्रकार र नागरिकको संविधान प्रदत्त अधिकारमा हस्तक्षेप भएको ठहर गर्दै खेलकुद पत्रकार मञ्च गण्डकी घटनाको कडा शब्दमा भर्त्सना गरेको महासचिव राजाराम पौडेलले जारी गरेको प्रेस विज्ञेप्तिमा उल्लेख गरिएको हो ।

साथै घटनामा संलग्न माथि कानुनी कारवाहीको प्रक्रिया तत्काल अगाडि बढाइ आगामी दिनमा पत्रकारलाई निर्धक्क र निर्वाध रुपमा समाचार सङ्कलन, प्रकाशन एवं प्रसारणको वातावरण निर्माण गर्न सम्बन्धित पक्षको मञ्च गण्डकी ध्यानाकर्षण गराएको छ ।