धावक अर्जुन गोदारले कार्तिक ५ गते देखि काठमाण्डौं पोखरा रुटमा २ सय किलोमिटर दौडने तयारी

-


     पोखरा क्लिक     
     कार्तिक ३ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा ३, कार्तिक,

नेपाली सेनाबाट निवृत्त भई यूएईको सार्जा पोर्ट हाप म्याराथन दौड प्रतियोगितामा ह्याट्रिक पूरा गर्न सफल कास्की रुपा गाँउपालिकाका धावक अर्जुन गोदारले काठमाण्डौं पोखरा रुटमा २ सय किलोमिटर दौडने भएका छन्। कास्की रूपा गाउँपालिका १ फल्याङकोट निवासी ४४ वर्षीय गोदार काठमाडौँको दशरथ रंगशाला देखि देखि पोखरासम्म दौडने भएका छन् ।

नेपालको निकै चर्चित रुटमा पर्ने काठमाडौँदेखि पोखरासम्मको क्षेत्रमा सडक दुर्घटना बढी भएर धेरैको जनधनको क्षेती भएकोले शान्तिको कामना सहित स्वास्थ्यको लागि खेलकुद भन्ने नाराका साथ उक्त दौड पूरा गर्ने अठोट गरेको धावक गोदारले बताए । नेपाली सेनाको हवल्दार पदबाट निवृत भएका गोदार विगत ११ बर्ष देखि युएईको सार्जा पोर्टमा काम गर्दै आएका छन भने उनीले हप्तामा कम्तिमा १ सय ५० किलोमिटर दौडदै आएका छन् । काठमाडौँको दशरथ रङ्गशालाबाट सुरु गरी उक्त प्रतियोगिता ३ दिनको दौरानमा पोखरा रङ्गशालामा आएर समापन गर्ने गोदारको लक्ष्य रहेको छ । दैनिक ७० किलोमिटर दौड पूरा गर्ने उनले योजना बनाएका छन्।

केही समय अघिदेखि काठमाडौँ पोखरा रूटमा दौडेर पार गर्ने लक्ष्य लिएका गोदारले मौसम र प्राविधिक कारणले गर्दा बल्ल समय जुटेको प्रतिक्रिया दिए । पोखरा म्याराथनमा सहभागी हुने लक्ष्य लिएका गोदारले केही समय अगाडि पोखरामा आयोजना भएको क्रस कन्ट्री पर्वतीय दौड प्रतियोगितामा समेत सहभागी भएका थिए । आफ्नो एकल दौड भएकोले गर्दा मेडिकल सहित स्वयम सेवकहरु गरी ६ जना आफ्नो दौडको अभियानमा जुट्ने उनी बताउछन्।