
दीननाथ बराल,
पोखरा १, कार्तिक,
पर्यटनको राजधानि पोखरामा वडा दशैं तथा शुभदिपावलीको अवसरमा पोखरामा आउने पर्यटकहरुलाई होटल आवासमा ३० प्रतिशत छुट दिने पूर्व घोषणाले दशैं लगतै पोखरामा पर्यटक आगमनमा उल्लेखनिय बृद्धि भएको छ । दशै टिकाको केही दिन अघि उक्त घोषणा भए पनि दशैं टिकाको भोलि पल्ट देखि केही दिन पोखराको होटल अकुपेन्सि ७० प्रतिशतसम्म पुगेको व्यवसायीहरुले बताउन भएको छ ।

नेपालीहरुको महान पर्व बिजया दशमी टिकाको दिन पछि केही दिन ७० प्रतिशतम्म होटल अकुपेन्सि पुगेको पोखरामा हाल ५० प्रतिशतमा झरेको होटल संघ पोखरा नेपालले पोखराक्लिकलाई जनाएको छ ।
कोजाग्रतपूर्णिमा पर्वको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिएकोले आउदो शनिबारसम्म पोखरामा आन्तरिक पर्यटकहरुको उत्साहजनक सहभागिता हुने आफुहरुले अपेक्षा गरेको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनु भयो । पोखरामा हाल पोखरा आसपास देखि देशका विभिन्न शहर हुदै भारतीय पर्यटकहरुको समेत आगमन भएको उहाँले जनाउनु भयो । तेश्रो मुलुकका पर्यटक भने केही कम भएको तथा केही ट्रेकिङ तर्फ गएका पाहुना समेत पोखरा फर्किएको संघले जनाएको छ ।
संघले दशैं अघि नै वडा दशैं तथा शुभदिपावलीको अवसरमा पोखरामा आउने पर्यटकहरुलाई होटल आवासमा ३० प्रतिशत छुट दिने घोषणा गरेको थियो । होटल संघ पोखरा नेपालले आफ्ना सदस्य अन्तर्गतका होटल प्रतिष्ठानहरुमा बडा दशै देखी तिहार सम्म प्रकाशित दररेट (आवासमा) पाहुनालाई ३० प्रतिशत सम्म छुट दिने घोषणा गरेको अध्यक्ष सुवेदीले जनाउनु भयो ।
पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्डको स्तरोन्नती कार्य पनि धेरै हदसम्म अगाडि बढेको, राजमार्ग खुल्ला अवस्थामा नै रहेको तथा पोखरा जोड्ने अन्य राजमार्गहरुको अवस्था सामान्य रहेकोले दशैं तथा तिहार पर्वको अवसरमा अधिकांश पर्यटकहरुलाई आकर्षण गर्न उक्त छुटको व्यबस्था गरिएको संघले जनाएको छ ।
देशमा भएको आर्थिक मन्दि सहित पछिल्लो क्रममा भएको बाढी पहिरोले पोखरा क्षेत्रमा खस्केको पर्यटन क्षेत्रलाई आकर्षण गर्न संघमा आबद्ध पर्यटक स्तरिय ५ स्टार होटलसम्म उक्त छुट लागु हुने भएको संघका महासचिव राजेन्द्र ढकालले जनाउनु भयो ।





