प्रहरी समायोजन नहुँदा प्रदेशको काम समेत प्रभावित बनेको छ मुख्यमन्त्री पाण्डे

-


     पोखरा क्लिक     
     असाेज ३० गते २०८१ मा प्रकाशित



पोखरा ३०, असोज,

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरी समायोजन नहुँदा प्रदेश सरकारको काम समेत प्रभावित बनेको बताएका छन् । ‘संवैधानिक व्यवस्था अनुसार प्रदेश स्तरमा प्रहरी समायोजन भईसक्नुपथ्र्यो’ गण्डकी प्रदेश प्रहरी कार्यालयले बुधवार आयोजना गरेको ६९ औँ प्रहरी दिवसको कार्यक्रममा उनले भने ‘अहिले पनि २०१२ सालको ऐन देखाएर समायोजना गरिएको छैन ।’

मुख्यमन्त्री पाण्डेले संविधानको व्यवस्था र सङ्घीयताको मर्म अनुसार संघ सरकारले तत्काल प्रहरी समायोजन गर्नुपर्ने बताए । ‘सुरक्षाकर्मीलाई साधन स्रोत सम्पन्न बनाउन, आधुनिक प्रविधिसँग दक्ष बनाउन राज्यले अहिले भईरहेको भन्दा लगानी बढाउनुपर्ने आवश्यकता छ’ उनले भने ‘त्यसकालागि प्रहरी समायोजन एउटा महत्वपूर्ण पाटो हो ।’ गण्डकी प्रदेश सरकारले आफु मातहत नभएपनि प्रदेश भित्रका नागरिकको सुरक्षा, सेवा गरिरहेको सुरक्षाकर्मीलाई सहयोग गर्ने गरी कार्यक्रम र बजेट बिनियोजन गरेको उनले बताए । आर्थिक वर्ष २०८१÷८२ मा कार्यन्वयन हुने गरी प्रदेश सरकारले प्रहरी चौकीहरु निर्माण, तालिम केन्द्रको संरचना, प्रहरी अस्पतालको भौतिक संरचना निर्माण सिसिटीभि जडान, घेराबार, र चौकीहरुको भौतिक पूर्वाधारका योजनामा १३ करोड ९५ लाख बजेट बिनियोजन गरेको छ ।

खोज तथा उद्धारमा प्रयोग हुने विपद् सामग्रीहरु हस्तान्तरण, तालिम, सचेतनामुलक कार्यक्रम, लागु औषध दुव्र्यसनी न्यूनिकरणका कार्यक्रम प्रदेश सरकारको सहयोगमा प्रदेशभर प्रहरीले संचालन गर्दै आएको मुख्यमन्त्री पाण्डेले बताए । ‘यसलेपनि केही हदसम्म प्रहरीहरुको मनोवल उच्च राख्न र संगठनलाई चलायमान बनाउन मद्धत पुग्छ भन्ने अपेक्षा गण्डकी प्रदेश सरकारको रहेको छ’ उनले भने ।

प्रहरीलाई राज्य र आम नागरिकलाई शान्ति सुरक्षा दिनुपर्ने गहन जिम्मेवारी छ । त्यसैलेपनि सुरक्षाकर्मीसँग नागरिकको अपेक्षा धेरै रहेको मुख्यमन्त्री पाण्डे बताए । प्रहरी कार्यालयमा आफ्ना पिर मर्का लिएर आउने सेवाग्राहीको गुनासो वा विवरण राम्रोसँग सुनिदिने र कार्यान्वयनमा जटिलता तथा झन्झट पैदा नगर्ने, पटक–पटक कार्यालय धाइरहनु पर्ने वातावरणबाट मुक्ति दिने, नागरिकहरुसँग शिष्ट व्यवहार गर्ने, आपत्कालीन सहयोग गर्ने जस्ता मानवीय कार्य लाई प्राथमिकतादिँदै अघि बढ्न सकेमा प्रहरीबाट नागरिकमा अझै प्रभावकारी सेवा पुग्ने उनले बताए । देशमा शान्ति सुरक्षा कायम राख्ने सवालमा मात्र नभई विपद्का बेलापनि नेपालमा सुरक्षा संयन्त्रहरुले निर्वाह गर्दै आएको भूमिकाको उनले प्रशंसा गरे । नागरिकलाई दुःख पर्दा राज्यको पहिलो उपस्थितीको प्रतिनिधित्व सुरक्षाकर्मीले गर्ने गरेको उनले बताए ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिहले विगतदेखि नै राष्ट्र र जनताको सेवामा निरन्तर खट्दै आएको प्रहरी संगठन सदैब जनमुखी, पारदर्शी र छिटो छरितो सेवा प्रवाहमा प्रतिवद्ध रहेको बताइन् । सिंहले प्रहरी दिवसका अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको शुभकामना सन्देश समेत बाचन गरिन् । कार्यक्रममा उच्च अदालत पोखराका माननीय मुख्य न्यायधिस डा।रतन बहादुर वागचन्द, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी विश्व विद्यालयका कुलपति प्रा.डा.गणेशमान गुरुङ, पश्चिम पृतना हेडक्वाटर पोखराका पृतना पति उपरथी सन्तोष बल्लभ पौडेल लगायतको उपस्थिति रहेको थियो ।