
गुरुङ समुदायमा प्रचलित कृष्ण चरित्र नाचको संरक्षणका लागि पाखुरीकोट गुरुङ समाज जुर्मुराउन थालेको छ ।
विशेष गरेर जेठा छोराको वंश निरन्तरताका लागि विजोड वर्षमा नाच्ने यो नाच लोप भएर जाने हो कि भन्ने चिन्ताले यसरी समाज नै यसको संरक्षणमा लागेको कार्यक्रम संयोजक बताउँछन् ।
एक महिना अगाडिबाट पाखुरीकोट गुरुङ समाजद्वारा आयोजित उक्त कृष्ण चरित्र प्रशिक्षण मंगलबार सम्पन्न भएको छ ।
समापन समारोहका सहभागीलाई प्रमाणपत्र वितरण गर्दै गण्डकी प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले कला, संस्कार र संस्कृतिको संरक्षण गर्नु यस्तै सामाजिक संस्थाको महत्वपूर्ण भूमिका रहने भएकाले समाजले स्तुत्य कार्य गरेको धारणा राखे ।
कार्यक्रम संयोजक केशबहादुर गुरुङले गण्डकी प्रज्ञा–प्रतिष्ठानको आर्थिक सहयोगमा सञ्चालित उक्त प्रशिक्षणमा एक सय जना सहभागी रहेको जानकारी गराए ।
संस्थाका अध्यक्ष सि.आई. हरि ध्वोज गुरुङले हाम्रो मौलिक संस्कार संस्कृतिको संरक्षण महत्वपूर्ण विषय रहेकाले समाजबाट लोपोन्मुख हुन लागेको कृष्ण चरित्रलाई जीवन्त राखी नयाँ पुस्तामा पुस्तान्तरण गर्नका लागि कार्यक्रम आयोजना गरिएको हो ।
गायन र नृत्यतर्फ कुलवीर गुरुङ, हरिध्वज गुरुङ र मानध्वज गुरुङले सहजीकरण गरेका थिए । यस्तै, वाद्यवादनतर्फ गोविन्द गुरुङले सहयोग गरेका थिए ।
प्रशिक्षणपछि सबै लिलामा गाउन, बजाउन र नाच्न सक्षम भएको सहभागी नेत्रबहादुर गुरुङले बताए ।
एक महिनासम्म चलेको प्रशिक्षणमा श्रीकृष्ण जन्म लिला, बाल लिला, राधाकृष्ण लिला, होली लिला, पे्रम लिला, नाग लिला र चिर लिला गरी सातै लिलाको प्रशिक्षण गराइएको थियो ।
कृष्णबहादुर गुरुङले कृष्ण चरित्र प्रशिक्षणमा सहभागी सबैलाई आभार व्यक्त गरे ।





