
स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका–७, ठूलाडिहीबाट पोखरामा आई बसोबास गर्ने सम्पूर्ण बन्धुको भेटघाट तथा पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख व्यक्तित्व प्रदेश सभा सदस्य सीता सुन्दासले ठूलाडिहीको माटोबाट आर्जन गरेको सभ्यता र संस्कारको अनुशरण गर्दै अगाडि बढ्नु वर्तमानको आवश्यकता भएको बताइन् ।
महिलाहरूको पर्व हरितालिका तीजका सन्दर्भमा प्रकाश पार्दै सुन्दासले वर्तमानमा तीज पर्वले बोकेको सन्देश र महिला मुक्तिको आन्दोलनलाई नजर अन्दाज गरेर विकृत तुल्याउन लागेकोमा चिन्तासमेत व्यक्ति गरिन् । उनले थपिन्– ‘मञ्चको कार्यक्रमले स्कुले जीवनका गुरुदेखि साथीहरू, घाँसदाउरा–मेलापातमा हिँडेका प्रियजनसँगै बालापनका दिनको स्मरण गराएको छ ।’
वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगरले मञ्चले महिलाहरूको महान् पर्व तीजको पूर्वसन्ध्यामा ठूलाडिहीवासी दिदीबहिनी–दाजुभाइ बीच बन्धुत्वको भावना विकासमा टेवा पु¥याउँदै आएको बताए ।
उनले बन्धुत्व बीचको एकताले व्यक्तित्व मात्र नभएर समुदाय एवम् राज्यमा समृद्धि र सुशासन कायममासमेत योगदान पुग्ने धारणा राखे ।
संस्थाका अध्यक्ष दुर्गाबहादुर शाह बाबाले एकतामा हुने बलको सदुपयोगका लागि मञ्च क्रियाशील रहँदै आएको जानकारी दिए । उनले हरेक स्थानको आफ्नो मौलिक पहिचान हुने भएकाले त्यसलाई जीवन्तता दिन मञ्च ठूलाडिहीको पहिचान झल्कने पुस्तक प्रकाशनको तयारीमा रहेका जानकारी दिँदै सम्पूर्णलाई साथ दिन पनि आग्रह गरे ।
सचिव हरि नेपालले विभिन्न भेगमा छरिएका दाजुभाइ दिदीबहिनीबीच आत्मियता जगाउन मञ्चले वार्षिक रूपमा दिदीबहिनी भेटघाट तथा पुनर्मिलन कार्यक्रम आयोजना गरेको बताए ।
कार्यक्रमका संयोजक चेतबहादुर कार्की चेतनले ठूलाडिहीबाट पोखरा झरेका बन्धु बीचको एकतालाई जीवन्त तुल्याउन मञ्च क्रियाशील रहेको धारणा व्यक्त गरे ।
रुद्र रेग्मीले साहित्यिक प्रस्तुतिसहित मञ्चमा आवद्ध हुने अवसर नपाएका ठूलाडिहीबासीलाई क्रमशः जोड्दै लैजाने धारणा राखे । सो अवसरमा कार्यक्रम संयोजक चेतन कार्कीलाई संयोजनकारी भूमिकामा रहेर पु¥याएको योगदानको कदर गर्दै प्रशंसापत्र प्रदान गरिएको थियो ।




