६ युवालाई एमालेको सम्मान

-


     पोखरा क्लिक     
     श्रावण २९ गते २०८१ मा प्रकाशित


पोखरा, २९ साउन,

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेकपा ९एमाले०कास्कीले विभिन्न क्षेत्रका ६ जना युवालाई सम्मान गरेको छ । पोखरामा सोमबार आयोजित कार्यक्रममा गायन, स्वास्थ्य, शिक्षा, खेलकुद र कानुन क्षेत्रका गरेर ६ जनालाई सम्मान अवार्ड दिएर सम्मान गरिएको हो ।

सम्मानित हुनेमा नेपाल आइडलका विजेता करण परियार,फर्स्ट रनरअप सलोमी गुरूङ, राष्ट्रिय भलिबल टोलीकी कप्तान अरूणा शाही, डाक्टर विकास गौचन, प्राध्यापक शुष्मा रञ्जित र अधिवक्ता कुञ्जनी परियार प्यासी छन् । सम्मानित भएका करण बर्दियाका हुन् भने बाँकी पाँच जना कास्कीसहित गण्डकी प्रदेशको भूगोलमै जन्मे–हुर्केका यहीँ कर्म गरिरहेकाहरु हुन् । युवालाई उत्प्रेरित गर्नुपर्छ भन्ने उद्देश्यले विभिन्न क्षेत्रका ६ जनालाई सम्मान गरिएको कार्यक्रम संयोजल एवं एमाले जिल्ला सचिव दर्शन लामाले बताए ।

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, पार्टी स्थायी कमिटी सदस्य एवं गण्डकी इन्चार्ज किरण गुरुङ, पार्टी जिल्ला इन्चार्ज कृष्णबहादुर थापा, अध्यक्ष बैनबहादुर अधिकारी, कास्की कांग्रेस सचिव भानु ढकाल, नेकपा एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष पूर्ण लामालगायतले सम्मानितलाई ट्रफी हस्तान्तरण गरे ।

सम्मानितमध्ये मुस्ताङमा जन्मिएका डा। विकास गौचन २०७७ साल पुसदेखि गण्डकी प्रदेश सरकार मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालको कार्यकारी निर्देशक छन् । कोभिड–१९ महामारीको समयमा पाँच वर्षका लागि उनी उक्त अस्पतालको जिम्मेवारीमा आएका थिए । सन् २००९ मा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस उत्तीर्ण गरेका गौचनले अछामको बयलपाटा अस्पतालमा मेडिकल डाइरेक्टर भएर करिब ९ वर्ष काम गरेका छन् । डाक्टर गौचन प्राइभेट प्राक्टिस नगर्ने डाक्टरहरूमध्ये एक हुन् ।

नेपाल आइडलको फस्ट रनरअप सलोमी गुरूङको जन्म घर लमजुङको क्व्होलासोथार गाउँपालिका ७, कुमलुङ भएपनि उनको बाल्यकाल पोखरामै बित्यो । पोखरा चाउथे बस्ने सलोमी संगीतको कुनै औपचारिक कक्षाबिनै नेपाल आइडलको स्टेजसम्म पुगेकी थिइन् । नेपाल आइडलमा सहभागी हुनुअघि उनी पोखराकै एउटा मन्टेश्वरीमा पढाउँथिन् । संगीत क्षेत्रमा लागिरहन ऊर्जा मिलोस् भन्ने उद्देश्यले उनलाई सम्मान गरेर हौसला थपेको सचिव लामाले जानकारी दिए ।

म्याग्दी घर भएकी अरुणा शाही २०७६ सालबाट राष्ट्रिय महिला भलिबल टोलीको कप्तान छिन् । उनको भलिबल यात्राको टर्निङ पोइन्ट भने पोखरा हो । पोखराकै ज्ञानुबाबा स्कुलले उनमा भलिबलको सम्भावना देखेर पोखरा ल्याएको थियो । गण्डकी प्रदेश भलिबलको उर्बर भूमि भएको र खेलाडीलाई सम्मान गरेर हौसला थप्ने उद्देश्यले अरूणालाई सम्मान गरिएको हो ।

अधिवक्ता कुञ्जनी परियार ‘प्यासी’ महिला र दलित समुदायको अधिकार स्थापित गर्न संघर्षरत छिन् । नागरिकता नहुँदा बाल्यकालमा पढ्न नै संघर्ष व्यहोरेकी कुञ्जनीलाई उनको संघर्ष र हिम्मतको कदर गरेर सम्मान गरिएको हो । जाजरकोटका नवराज विकसहित ६ जनालाई लखेटी–लखेटी हत्या गरिएको घटनाका बारेमा उहाँले वाकलतमार्फत पीडितलाई न्याय दिलाउन सफल भएकी थिइन् । त्यसबाहेक पोखराकै एक वडाअध्यक्षले एउटी महिला वडा सदस्यमाथि गरेको विभेदविरुद्ध न्याय दिलाउन उनी सक्रिय थिइन् ।

शुष्मा रञ्जित इन्टरनेसनल स्कुल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी ९आइ।एस।एम।टी०को क्याम्पस कोओर्डिनेटर हुन् । पोखरा विश्वविद्यालयबाट सन् २०१६ मा एम।बी।ए उत्तीर्ण गरेकी रञ्जितले प्रारम्भिकदेखि उच्च शिक्षसम्म पोखरामै अध्ययन गरिन् । पोखरा रानीपौवा निवासी रञ्जितलाई पोखरामै हुर्किएर, पोखरामै आफ्नो सीप शैक्षिक क्षेत्रमा खर्च गरिरहेकोमा त्यसको कदर गर्दै सम्मान गरिएको हो ।

कार्यक्रममा निवर्तमान मुख्यमन्त्री अधिकारीले आफ्नो युवावस्थाको राजनीतिक गतिविधि सम्झिए । गण्डकी विश्वविद्यालयका डिन कपिल अधिकारीले युवा र विज्ञान विषयमा, सीए दीपक भुर्तेलले पोखराको विकासको सम्भावना, अधिवक्ता कुञ्जनी परियारले आफ्नो न्यायिक यात्रामा केन्द्रीत भएर धारणा राखेका थिए । कार्यक्रममा पोखरेली युवाहरुको ब्याण्ड दि रिफ रिभाइबलले सांगीतिक प्रस्तुति राखेको र मोटिभेस्नल स्पिकर रोहित मल्लले मोटिभेसन गराएका थिए ।



This will close in 20 seconds