
पोखरा २३, असार,
गण्डकी प्रदेशस्तरीय शारीरिक सुगठन प्रतियोगिता २०८१ मा कास्कीका सुजन थापा ‘मिस्टर गण्डकी’ घोषित हुनु भएको छ । पोखरामा शनिबार सम्पन्न भएको प्रतियोगितामा कास्कीका थापाले ओभरअल च्याम्पियन हुँदै मिस्टर गण्डकी घोषित हुनु भएको हो ।

उहाँले उपाधि सहित नगद रु २५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नु भएको हो । प्रदेश खेलकुद परिषद गण्डकीले आयोजना गरेको प्रतियोगितामा सुजन थापाले ६० केजी तौल समुहको प्रतिष्प्रर्धामा प्रथम स्थान हासिल गर्न सफल हुनु भएको हो । पोखरा रत्न श्री जिमका खेलाडी थापाले १५ हजार नगद सहित पुरस्कार प्राप्त गर्नु भयो । उक्त विधाको प्रतियोगितामा कृष्ण गुरुङ दोश्रो र पुजन पुन तेस्रो हुनु भयो । उहाँहरु मध्य दोश्रोले १० हजार र तेश्रो हुनेले ७ हजार प्राप्त गर्नु भयो ।
प्रतियोगितामा ५५ केजी तौल समुहमा प्रज्वलराज जिसी पहिलो भए भने मौलादिन मियाँ दोश्रो र रोहित श्रेष्ठ तेस्रो हुनु भयो । त्यसै गरी पुरुष ६५ केजी तौलतर्फ कुशल गुरुङ, बिक्की गुरुङ र रिक्की गुरुङ क्रमश पहिलो, दोस्रो र तेस्रो हुँदा ७० केजी तौलमा कृष्ण भण्डारी, मित्र बहादुर गुरुङ र सक्सेस गुरुङ क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका हुनु भयो । ७० केजी तौल भन्दा माथी शंकर सुवेदी प्रथम, सुनिल कुशवार दोश्रो र अशोक शेरचन तेस्रो हुनु भयो ।
त्यस्तै मेन्स फिजिकतर्फ रोशन उपरकोटी, सिजन गुरुङ र अनिल गुरुङ क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्दा उमेन्स वेलनेसतर्फ विपना कुमाल, अनिता मगर र उमा पुन क्रमशः पहिलो, दोस्रो र तेस्रो भएको टेक्निकल टिमका सदस्य लक्ष्मण (ल्याक्स) गुरुङले पोखराक्लिकलाई बताउनु भयो । बिजेता मेन्स फिजिक र उमेन्स वेलनेसतर्फका बिजेताहरुले जनही नगद रु १५ हजार, १० हजार ७ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नु भयो ।
यस अघि प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङले गर्नु भएको थियो । बिजेता खेलाडीहरुलाई प्रदेश खेलकुद परिषदका सल्लाहकार सुनिल गुरुङ, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सुनबहादुर लामा लगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गर्नु भयो । प्रतियोगितामा विभिन्न जिल्लाका ४० जना खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाउनु भएको थियो ।







