
पोखरा रङ्गशालामा हुने ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ को तयारी पूरा भएको छ । राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद परिषद, गण्डकीको संयुक्त आयोजनामा आज र भोलि(विहिबार) हुने प्रतियोगिताको तयारी पुरा भएको मंगलबार पोखरामा पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

प्रतियोगितामा एथलेटिक्स, बास्केटबल, रग्बी, टेबलटेनिस, ब्याडमिन्टन र बुद्धिचाल गरी ६ खेल समावेश गरिएको छ । सबै खेलमा छात्रछात्रातर्फको खेल हुनेछ । उनीहरुले ३८ स्वर्ण, ३८ रजत र ४६ कास्य पदकका लागि प्रतिष्पर्धा गर्ने भएको प्रदेश खेलकुद परिषद, गण्डकीका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए ।

७ वटै प्रदेशका ६ सय ३० जना (खेलाडी, प्रशिक्षक र म्यानेजरसहित) सहभागी पोखरा आइसकेको सदस्य सचिव शर्माले जानकारी दिए । जसमा हरेक प्रदेशबाट ७६ जना खेलाडी, ७ जना प्रशिक्षक र ७ जना टिम म्यानेजर सहभागी छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले गण्डकी प्रदेशले यो प्रतियोगिता पाउनु गौरवको विषय भएकाले यसलाई सबै मिलेर सफलतापूर्वक सम्पन्न गर्नुपर्नेमा जोड दिए । काठमाडौं उपत्यका बाहिर गण्डकी प्रदेशमा गरिएको प्रतियोगिताले विद्यालय खेलकुदको जगलाई बलियो बनाउने आशा गरिएको विद्यालय खेलकुद महासंघका अध्यक्ष राजकुमार कार्कीले बताए । जुन ठाँउमा ठुला कार्यक्रमहरु हुन्छन सोही क्षेत्रको श्रोत साधन सहित त्यहाँको जनशक्ति परिचालन गर्नुपर्ने काठमाण्डौंबाटै अधिकांश परिचालन गर्न नहुने उनले जनाए ।

तष्विर दीननाथ बराल
यसैबिच, प्रतियोगिताको औपचारिक उद्घाटन आज दिउसो ३ः०० बजे पछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने प्रदेश खेलकुद परिषद, गण्डकीका दस्य सचिव श्रीधर शर्माले जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत ब्याडमिन्टनतर्फका खेलहरु मंगलबारदेखि नै सुरु भइसकेको छन् । बुधबार हुने उद्घाटन कार्यक्रमलाई भब्य बनाउन विभिन्न जनजातिका सांस्कृतिक कार्यक्रम, खेलाडीहरुको मार्चपास, पञ्चेबाजा, ब्यान्ड बाजा लगायतका कार्यक्रम तय गरिएको उनले जानकारी दिए ।







