पोखरामा सुरु भएको श्रमाधान रोजगार मेलामा रोजगार खोज्नेहरुको भिड

-


     पोखरा क्लिक     
     जेठ २१ गते २०८१ मा प्रकाशित


पोखरामा सुरु भएको श्रमाधान रोजगार मेलामा रोजगार खोज्नेहरुको भिड लागेको छ । नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय–गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजना, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघको सह आयोजना र होटल संघ नेपाल (हान) को संयोजनमा पोखरा ६, बुलौदीको पोखरा इभेण्ट सेन्टरमा सुरु भएको मेलामा रोजगार खोज्नेहरुको भिड लागेको हो ।

गण्डकी प्रदेशको राजधानी पोखरामा श्रमिक र रोजगारदाताहरुलाई जोड्न योजना सहित सुरु भएको उक्त मेलाको पहिलो दिनमै उत्साहजनक रुपमा रोजगार खोजि गर्नेहरुको भिडभाड भएको श्रम रोजगार कार्यालय पोखराका कारखाना निरिक्षक बलराम कुसवाहले बताए ।

मेलाले रोजगारीको वातावरण बनाउँदै निजी क्षेत्रमा रोजगारी सृजना तथा प्रबद्धन गर्न आवश्यक सीप विकासमा सहयोग पुग्ने, दक्षता अभिवृद्धि गर्दै रोजगारीको खोजीमा रहेकाहरुलाई सीप र रोजगारसँग जोड्ने बातावरण तयार गर्ने भएको उनले जनाए । मेलामा सरकारी ८ अन्य ३३ वटा निजी क्षेत्रका स्टलहरु रहेका छन्।

आन्तरिक रोजगारी प्रवद्धन र वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने श्रम र रोजगारको क्षेत्रमा रहेका बहुआयामिक समस्याहरुलाई एकद्वार प्रणालीबाट सम्बोधन गर्दै रोजगारीको लागि अनुकुल बातावरण सृजना गने उदेश्य सहित नेपाल सरकारले देशका सबै सात प्रदेशमा श्रमाधान रोजगार मेला गर्ने कार्यक्रम अनुसार पोखरामा गण्डकी प्रदेश स्तरिय मेला सुरु भएको हो ।

मेलाले श्रमिक तथा रोजगारदाताहरुलाई जोड्ने, रोजगारदाताहरु र विभिन्न क्षेत्रका सरोकारवालाहरुलाई एकै ठाँउमा ल्याएर नेटवर्किङ र रोजगारीको लागि अनुकुल वातावरण सृजनागर्ने उदेश्य समेत मेलाको रहेको आयोजकले दाबी गरेको छ । मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका यूवाहरुको सम्बन्धमा डाटाबेश निर्माण गर्ने, बेरोजगार युवाहरुको मागहरु ज्ञान, सीप र क्षमताको आधारमा संकलन गर्ने, रोजगारदाताहरुको सुचीकरण र रोजगारीका अवसरको पहिचान गर्ने गरि आन्तरिक रोजगार प्रबद्र्धन गर्न सकारात्मक योगदान दिने अपेक्षा गरिएको छ ।

मेलामा बायोडाटा निर्माण सिकाइ, विभिन्न रोजगारदातासँग सम्बन्धित, बैदेशिक रोजगार, कल सेन्टर, लगायतका स्टल तथा बुथहरु रहेकाछन् । मेलामा श्रम र रोजगारसँग सम्बन्धित विषयमा रहेर कार्यशाला गोष्ठी, अन्तरकृया र छलफल हुदैछ । मेलाको पहिलो दिन श्रम आप्रवासन ः कानुनी प्रकृया र मनेसामाजिक प्रभाव, यातायात रोजारीका चुनौती र अवसरहरु, अबको यात्रा योगदानमा आधारित सामाजिक सुरक्षा विषयमा छलफल तथा अन्तरकृया सम्पन्न भएको छ ।

यसैबिच, उक्त मेलाको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्यालले संयुक्त रुपमा विरुवामा पानी सिंचित गरी उद्घाटन गरे । कार्यक्रममा बोल्दै मन्त्री अर्यालले कस्तो तालिम लिदा उद्योग करकाखानामा रोजगारी पाईन्छ भन्ने सिप र सुचना पाउने थलोको रुपमा समेत आफुले मेला आयोजना गरिएको बताए । मन्त्री अर्यालले मेलाबाट धेरै भन्दा धेरैले रोजगारी पाउनेमा आफु विश्वस्त रहेको दाबी गर्दै हाल देशमा रोजगारी खोजेर हिड्ने युवाहरुको जमात ठुलो रहेकाले रोजगारीको खोजीमा रहेका र रोजगारदिन चाहने संस्थाहरुको मिलनविन्दुको रुपमा आफुले मेलालाई लिएको दाबी गरे ।

मुख्यमन्त्री पाण्डेले देशले अहिले सम्बोधन गर्नुपर्ने मुख्य विषय भनेकै रोजगारी रहेकाले रोजगारीको समस्या समाधान गर्न नसक्दा बाटो, घाटो, शिक्षा, स्वास्थ्यको क्षेत्रमा सरकारले जती लगानी गरेको छ त्यसको प्रतिफल लिन नसकिएको बताए । जनताहरु गाउँ घरमा नरहेको र त्यसको मुल कारण भनेको आफनो रोजगारीको लागि गाउँबाट शहर र शहरबाट विदेश जाने क्रम रहेको उनको भनाई थियो ।

गण्डकीका उर्जा जलश्रोत तथा खानेपानी र सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले रोजगारीका लागि लगानी मैत्री बाताबरण आवश्यक भएको बताए । तीन तहका सरकारले रोजगारीलाई प्राथमिकता दिदै कानुनहरु संसोधन गरि व्यवसायी मैत्री बनाउदै आएको बताए ।

पोखरा महानगरपालिकाका मेयर धनराज आर्चायले मेलामा सहभागि भएर आ आफनो आवश्यकताको खोजी गर्न सबैमा आग्रह गरे । रोजगारीका जति सम्भावना छन् तीनलाई व्यवहारमा उतार्ने गरि अव तीन तहका सरकारले काम गर्नुपर्नेमा समय आएको उनको भनाई छ । तथ्याङक संकलन देखि सहभागिहरुको दर्ता गराउन प्रायः बिद्यार्थीहरुलाई बढी परिचालन गरिएको थियो ।



This will close in 20 seconds